समाचारसमाज

क्वारेन्टिनमै किरिया शुरु

नेपाल अखबार, बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन् ।  उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि  निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए ।
क्वारेन्टिनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए  ।  भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।
लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बसेका थिए । रासस

the authoradmin

Leave a Reply