Saturday, July 18

पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साथ

नेपालअखबार,  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ ।

Advertisement

मञ्चको टोलीसँगको भेटमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले विगतका संस्करणमा झै यसपाली पनि मञ्चको अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको साथ रहने प्रतिवद्धता जनाएको मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

Advertisement
Advertisement

‘मन्त्रीज्यूले प्रदेश सरकारले विगतमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन्छ, तपाईँहरु ढुक्क हुनुहोस् भनेर भन्नुभयो, अब हामी थप तयारीमा जुट्छौं र अवार्डलाई भव्य बनाउँछौ’ अध्यक्ष बरालले भने ।

Advertisement

मन्त्री सिंखडालाई भेट गर्न मञ्चका अध्यक्ष बराल सहित महासचिव राजाराम पौडेल, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रोहीतराज पराजुली र कृष्ण दवाडी, मञ्चका शुभचिन्तक नविन सिग्देलको टोली मन्त्रालयमा पुगेको थियो ।

यसअगाडि मञ्चको टोलीले पोखरा महमनगरपालिकाका प्रमुख धनराज आचार्यसँग समेत भेट गरेको थियो । प्रमुख आचार्यले पनि विगतमा गरिदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाइसकेका छन् ।

उनले पोखरा स्पोर्ट्स अवार्ड गण्डकी प्रदेशको खेल क्षेत्रको लागि महत्वपूर्ण इभेन्ट भएको र प्राविधिक कारणबस रातो किताबमा समावेश हुन नसकेको भएपनि सहयोग निरन्तर रहने आगामी आर्थिक वर्षमा रातो किताब समावेश गर्ने समेत बताएका थिए । प्रमुख आचार्यसँगको भेटमा मञ्चका अध्यक्ष बराल, महासचिव पौडेल, सचिव शशी कुमार पौडेल, सदस्य पराजुली सहित पुर्व सल्लाहकार सन्देश श्रेष्ठ, सदस्य दीपक गोदार र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी सहभागी थिए ।

स्पोर्टस अवार्डमा प्रदेश सरकारको विशेष सहयोग गर्दै आएको छ भने पोखरा महानगरपालिकाले प्रवर्द्धन गर्दै आएको छ । मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गरिएको हो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।