खेलकुदसमाचार

रोजगारी सिर्जना गर्न पोखरा १३ मा आगामी शुक्रबार जब फेयर

Nepal Akhabar

नेपालअखबार, पोखरा । पोखरा १३ मा आगामी शुक्रबार जब फेयर कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ ।
वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो ।’, उनले भने ।
लायन्स र लियो क्लब पोखराको सहकार्यमा उक्त फेयर हुने वडाध्यक्ष बरालले जानकारी गराए । शुक्रबार वडा कार्यालयमा नै बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त कार्यक्रम राखिएको छ । जब फेयर मार्फत वडाका बेरोजगार युवाहरुले रोजगार पाउनेमा वडाध्यक्ष आशावादी देखिन्छन् ।
वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकास सँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको उनको भनाई छ ।
बरालले जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरेका छन् । उनका अनुसार उक्त फेयरमा उत्पादन देखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ । वडाले यसअघि पनि फरक ढङ्गको कार्यक्रम गर्दै आएको छ । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासमा वडाको क्रियाशिलता लोभलाग्दो छ ।

 

the authoradmin