Saturday, July 11

हाम्रा मागमा लिखित सहमति नदिए भोट हालिरहनुपर्छ भन्ने छैन: एकीकृत समाजवादी

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ।

Advertisement

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए।

Advertisement
Advertisement

उनले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रिय सभा अध्यक्षमा सहयोग गर्ने बताए।

Advertisement

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरूरी नरहेको बताए।

‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्यूले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौं। हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौं,’ उनले भने, ‘र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं। तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरूरी ठानेका छैनौं, ठान्दैनौं।’ उनले प्रधानमन्त्री प्रचण्डको सरकार टिक्ने वा ढल्ने भन्नेबारे आफैंमा निर्भर हुने उनको भनाइ थियो।

‘उहाँमै भर पर्छ। सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न,’ उनले भने।