Friday, July 31

सहकारी सञ्चालकलाई थुनेर बचत फिर्ता हुन सक्दैनः कानुनमन्त्री गिरी

नेपालअखबार, काठमाडाैं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता हुन नसक्ने बताएका छन्।

Advertisement

बिहीवारबाट काठमाडौंमा सुरू भएको राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

‘सहकारीका सञ्चालकहरूलाई गलत गर्दा थुनी हाल्ने हो भने बचत र्फिता कसले दिन्छ? सम्भव भएसम्म उनीहरूलाई बचत फिर्ता गराउन प्रयोग गर्न सक्नुपर्छ। जमानतमा छाडेर भए पनि विकल्प खोज्नुपर्छ। राज्यले समयमा नियमन नगरेर बिग्रेपछि सुधार गर्न समय लाग्छ,’ उनले भने।

Advertisement

उनले सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढेको पनि बताए।

‘सहकारीबाट ऋण लाने मान्छे प्राडो कार चढेर हिँड्छ। कार चलाएर सहरमा हिँड्छ । ऋण दिने मानिस जेल गएर बसेको छ। जसले ऋण दियो ऊ जेलमा छ । जसले ऋण लगेको थियो, उसले ऋण तिर्नुपर्दैन। कार चलाएर हिँड्छ। विधि पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानुन बमोजिम कारबाही हुनुपर्छ,’ उनले भने।

ऋण नतिर्ने सहकारीका ऋणीहरूलाई बैंकले गरी कारबाही गर्नुपर्ने पनि तर्क गरे। ‘जुनसुकै हिसाबमा ऋण लिएको होस्, आम जनताबाट संकलन गरेको रकमबाट ऋण पाएको हो। त्यो ऋण तिर्नुपर्छ। समयमा ऋण तिर्नुभएन भने सावाँ–ब्याज र हर्जानासहित तिर्नुपर्छ। नतिरे कालोसूचीमा पठाउने, बैंकले जसरी कारवाही गर्ने गर्नुपर्छ। त्यसरी कारवाही हुन्छ भनेको भए, सरकार वा अर्थमन्त्रालयले समयमा भनिदिएको भए, सहकारीमा अहिलेको स्थिति आउने थिएन। अझै भन्न सकिए रहेको छैन। सहकारीबाट ऋण लिएर छोरा अमेरिका पठाउने, छोरी अस्ट्रेलिया पढ्न पठाउँछन्, तर ऋण तिर्दैनन्,’ उनले भने।

उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए। प्रविधिमार्फत सदस्यहरूलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके विश्वसनीयता बढ्ने बताए।