Saturday, May 16

कम्युनिष्ट आन्दोलनको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद नै हो: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजलाई मार्ग निर्देशक सिद्धान्त मान्न नसकिने स्पष्ट पार्नु भएको छ।

शुक्रबार बागमती प्रदेश कमिटीद्वारा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

Advertisement

उहाँले भन्नुभयो,‘यहाँ जबज कालालित भइसकेको भन्दैछन्। जबजलाई अपमान गर्ने काम राम्रो होइन। हामीले विगतमा धेरै संघर्ष गरेका थियौं। संघर्षको क्रममा जबजले राम्रो साथ दिएकै हो। हामीले विगतमा जबजलाई मार्गनिर्देशक सिद्धान्तसमेत मान्ने काम गर्यौं। तर, मैले जबजलाई न त हिजो मार्ग निर्देशक सिद्धान्त मान्नुपर्छ भने न त आज भन्छु। कम्युनिष्ट आन्दोलनको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद नै हो।’

अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘देश र जनतालाई माया गर्ने पार्टी निर्माण गर्नुपर्छ। हिजो एमाले बनाउदा पनि हामीले यहि कुरा भनेका थियौं। हामीले मनमोहन अधिकारीको पालामा राम्रो काम गरेका थियौं। पछिल्लो समय २०७४ मा हामीले झण्डै दुई तिहाइ मत प्राप्त गरेका थियौं। त्यसलाई जोगाउन सकेको भए राम्रो हुन्थ्यो। एमालेका तिखो नेताले पछिल्लो समय विगतमा केही कमजोरी भए भन्नु भएको छ। जो कुरा हिजो भन्नुपथ्र्यो। जे होस् आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्छ।’

प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको अध्यक्षता एवं अध्यक्ष नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा वर्तमान राजनीति, विश्व परिस्थिति, पार्टीको अवस्था, महिलाअधिकारलगायतका विषयमा छलफल भएको छ।

कार्यक्रममा पार्टी उपाध्यक्ष जयन्ती राई, उपमहासचिव डा. गंगालाल तुलाधर, पार्टी सचिव जीवनराम श्रेष्ठ, अनेमसंघकी केन्द्रीय कोषाध्यक्ष डा.सिता ढुंगानालगायतले मन्तव्य राख्नु भएको थियो। बागमती प्रदेशका कमिटीका सचिव लक्ष्मण लम्सालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।