राजनीतिसमाचार

माओवादी र नेसपाबिच एकता गर्ने सहमति बाबुरामलाई बाइपास

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ । शनिबारका दिन माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ । बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा रहेका थिए । उनी आजको बैठकमा समेत सहभागी थिएनन् । सहमतिमा माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

WhatsApp Image 2024-03-16 at 09.51.42_18413808

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

सहमतिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ ।

पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

यता पार्टी अध्यक्षलाई समेत जानकारी नदिई एकता प्रक्रियामा गएकोमा नेसपा नेतृ मानुषी यमीले असन्तुष्टि व्यक्त गरेकी छन् ।  उनले भनिन्, ‘भोलिदेखि पार्टीको बैठक बोलाइएको छ । बैठकमा नआएर चोर बाटोबाट एकता प्रक्रियामा उहाँहरू जानुभयो । यो पार्टी एकता होइन, आत्मसमर्पण हो ।’

the authoradmin