राजनीतिविचारसमाचारहाइलाइट-समाचार

प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरण ओली र प्रचण्डले सहमति पालना नगर्दाको परिणाम भएको ब्रिफिङ गरेका हुन् ।

त्यसक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए ।

‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडाले  भने, ‘यो सरकार ढाल्न इशारा नै काफी छ । तर अहिले नै हामी त्यसतर्फ लाग्दैनौ ।’

त्यसक्रममा अध्यक्ष नेपालले यसअघि ओली र प्रचण्ड दुवैको आग्रहअनुसार आफूहरू सत्ता समीकरणमा जोडिएको बताएका थिए ।

‘वामपन्थीको नेतृत्वमै रहेको गठबन्धन भएकाले सहभागी हुनुपर्छ भन्ने मान्यताअनुसार हामी सहभागी भएका हौ । तर गठबन्धनमा हामी संलग्न हुनुअघि ओली र प्रचण्डले जे कुरा गर्नुभएको थियो र जे सहमतिहरू भएका थिए । ती सहमति कार्यान्वयन गर्ने र पालना गर्ने कुरामा एकपछि अर्को छोड्दै गए । जसले गर्दा सुदूरपश्चिममा प्रकट हुन पुग्यो’, अध्यक्ष नेपालले भनेका थिए ।

अध्यक्ष नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने सहमति भएपनि उक्त सहमति कार्यान्वयन नभएको बताएका थिए ।

‘एकपछि अर्को सहमति पालना नगरेको अवस्था आयो’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सचिव श्रेष्ठले भने, ‘सुदूरपश्चिममा जे देखियो त्यो हाम्रो नीति भन्दा पनि त्यहाँका साथीहरूमा देखिएको असन्तुष्टि हो ।’

अध्यक्ष नेपालले आफूहरू सत्ता गठबन्धनमा सहभागी हुँदा मुलुकको भविष्य र कम्युनिस्ट आन्दोलनलाई सहयोग पुग्ने बुझेर सहयात्री बनेपनि विगतको कोर्ष करेक्सनतर्फ प्रचण्ड र ओली नलागेको विश्लेषण सुनाएका थिए । अध्यक्ष  नेपालले राष्ट्रियसभा उपाध्यक्ष, उपचुनाव, राष्ट्रियसभा सदस्यमा मनोनीतका साथै मुख्यमन्त्रीका सवालमा समेत कोर्ष करेक्सनतर्फ दुई नेता नलागेको बताएका थिए ।

‘श्रृङ्खलाबद्ध रूपमा सहमति पालना भइरहेका छैनन् । सङ्घीय र प्रदेश सरकारमा संलग्न रहने तथा पोजिसनअनुसार सहभागिता र सर्भिस डेलिभरी गर्ने कुरामा समझदारी विकास गर्ने कुरामा दरार उत्पन्न भएको छ’, अध्यक्ष नेपालको भनाइ थियो । उनले गठबन्धन टिकाउनुपर्ने र बिग्रेको कोर्ष करेक्सनतर्फ नै लाग्नुपर्नेमा जोड दिएको नेता श्रेष्ठको भनाइ छ ।

सोमबारमात्रै एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी लक्षित टिप्पणीले पनि ओली कोर्ष करेक्सनको पक्षमा नरहेको अध्यक्ष नेपालसँगको छलफलमा सहभागी नेताहरूले बताएका थिए । जवाफमा अध्यक्ष नेपालले अहिले आफूहरूलाई भड्काउने र उत्तेजित गरेर फेरि अर्को समीकरण बनाएर फाइदा उठाउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

‘गठबन्धनबाट बाहिर गएजाओस् भन्ने र त्यसपछि नयाँ खालको परिस्थिति सिर्जना गरेर त्यसबाट नयाँ अवसरका लागि भूमिका खेलेको पनि हुनसक्छ’, अध्यक्ष  नेपालको भनाइ छ ।

the authoradmin