Sunday, May 3

नवौं महाधिवेशनमा छुटेको देश बनाउने कार्यक्रम पुन:लेखन सुरू भएको छ: महासचिव भुसाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नवौँ महाधिवेशनबाट छुटेको देश बनाउने कार्यक्रम पुन: लेखन सुरू भएको जानकारी दिनु भएको छ।

सोमबार कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम फायर साइडमा बोल्दै महासचिव भुसालले उक्त कुरा जानकारी दिनुभएको हो।

Advertisement

उहाँले भन्नुभएको छ,‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं। आगामी १०औं महाधिवेशनमा हामीले नवौं महाधिवेशनमा छुटेका कुराहरू पुन: लेख्नेछौं। हाम्रो जीवनमा एउटा ठूलो प्रक्रिया टुटेको छ। हामीले नवौं महाधिवेशनबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने अब बाटो यो हो भनेर भन्नेसम्म देखाएका थियौँ। अझै स्पष्ट कार्यक्रम भनेको समृद्ध नेपाल सुखी नेपाली हुनका लागि कृषिमा के हुनुपर्छ? उद्योगमा के हुनुपर्छ ? शिक्षा, स्वास्थ्य, रोजगारमा के हुने ? पूर्वाधार र अरु उत्पादनका क्षेत्रमा के गर्ने ? समृद्ध नेपाल सुखी नेपाली बनाउने राजनीतिक दल र संगठन कस्तो हुन्छ ? भन्ने कुरा हामीले छुटाएका छौँ। चुनावदेखि चुनावैसम्मको राजनीतिले आज सबै समस्या देखा परेका हुन्। यसको समाधान गर्नुपर्छ।’

महासचिव भुसालले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउनु पर्नेमा जोड दिनु भएको छ। उहाँले भन्नुभयो, ‘हामीले लिनुपर्ने कार्यक्रम हामीले बनाउनुपर्ने संगठन र पार्टी जीवनको आन्तरिक लोकतन्त्रलाई कसरी बलियो बनाउने भन्ने हाम्रो चिन्ताको विषय हो। नेताले जे भन्यो त्यो हुने र लाखौं कार्यकर्ता उठबस हुनुपर्ने अवस्था टेक्निकल कुराहरु हुन्। हामीले अलिकति केही तयारी गर्नुपर्ने, छलफल गरेर एउटा विश्वास दिनुपर्नेछ।

महासचिव भुसालले अरू कुनै पार्टी फुट्यो भन्दैमा एकीकृत समाजवादी तलमाथि भइहाल्ने कुरा अराजनीतिक हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी फुट्दैन । संस्थागत रूपले हामी यसका प्रति प्रतिबद्ध छौँ। यो भन्दा बाहेक हामीसँग गर्न सकिने कुरा छैन।’

साथै महासचिव भुसालले वर्तमान सत्ता गठबन्धनमा पूर्व सहमति पालना नभए सरकार छाड्ने चेतावनी दिनुभएको छ।