Monday, April 20

आफूखुसी १९ प्रहरी गैर हाजिर, ७ दिनभित्र सम्पर्कमा आउन सूचना

नेपालअखबार,काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर भएका १९ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको प्रहरी प्रधान कार्यालय सूचनामार्फत भनेको छ । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न गरी सफाइको मौका दिइएको र अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनीसमेत दिएको छ ।

Advertisement

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार ७ जना फागुनदेखि र ११ जना चैतदेखि कार्यालयमा गैर हाजिर छन् । गैर हाजिर हुनेमा चितवनका प्राविधिक प्रहरी नायव निरीक्षक अञ्जन सिम्खडा र गुल्मीका प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने छन् ।

त्यस्तै प्रहरी हवल्दार प्युठानका कमल रोकामगर, बाराका प्रेमचन्द्र जैसवाल र दाङका देवेन्द्र डिसी छन् । त्यस्तै सप्तरीका प्रहरी सहायक हबल्दार यौनीकुमार मण्डल, प्राविधिक प्रहरी जवान रामेछापका शिव श्रेष्ठ पनि गैर हाजिर छन् ।यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा शिवकुमार चलाउने, रुपक केसी, वीरेन्द्रसिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुलबहादुर सारु थापा, कल्याण डीसी, माधव थापा र प्रहरी कार्यालय सहयोगी रमिता खत्री छन् ।