Sunday, April 19

लगातारको वर्षाका कारण तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

नेपाल अखबार, राजविराज । तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ । यस वर्ष पनि वर्षा शुरु भइसकेकाले दक्षिणी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा रहेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । ती खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक भए पनि कोरोना भाइरसका कारण  तीन महिनादेखि काम नभएका कारण बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् ।
लकडाउनका कारण खाँडो नदीमा निर्माण हुने तटबन्ध समयमा निर्माण हुन नसकेको कारणले पनि तिलाडी कोइलाडी गाउँपालिका यस वर्ष पूर्णरुपमा डुबान हुने उनले बताए । खाँडो नदीले प्रत्येक वर्ष तिलाठी कोइलाडी गाउँपालिका–१ देखि ८ सम्म डुबान हुने गरेको बताउँदै बाढी आउनुभन्दा अघि नै यहाँको जनता सतर्कता अपनाउन  पर्ने उनको आग्रह छ ।
खाँडो नदीको बाँधको काम केही ठाउँमा अधुरो रहेकाले बाढी सोझिएर तिलाठी कोइलाडी थप डुबानमा पर्न सक्ने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ । खाँडो नदीमा आउने बाढी तिलाठी हुँदै भारत प्रवेश गर्छ । गत २०७३ को बाढीमा तिलाठी कोइलाडी–४ मा एक बालकको ज्यान गएको थियो भने हजारौँ घर बाढीले क्षति गरेको थियो । यस्तै सप्तरीका सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर, कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन्  ।
सो नदीमा बाढी आउनुभन्दा पहिला नदीको मर्मत र उचित ढङ्गले बाँध निर्माण सम्पन्न नभएकाले पनि जिल्लामा बाढीका समयमा उच्च सतर्कता अपनाउनुपर्ने बाध्यता रहेको बुद्धिजीवीको भनाइ छ ।  खाँडो खोलाको बाढीका कारण बर्सेनी डुबानको समस्या झेल्दै आएका तिलाठी कोइलाडी गाउँपालिका अहिले  उच्च जोखिममा परेको जनाइएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहका अनुसार विगत दुईतीन महिनादेखि कोरोना भाइरसका कारण जिल्ला त्रसित रहेको बेला लगातार परेको मुसलधारी वर्षाले पनि तिलाठी कोइलाडी गाउँपालिकाको आधा दर्जन गाउँमा बाढी पस्न सकिने  खतरा रहेको जनाए ।रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *