Tuesday, May 12

६ विपक्षी दलको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ ।  ६ विपक्षी दलको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बस्नेछ।

बैठकपछि दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन्।

Advertisement

सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लोपटक सरकाले अध्यादेश जारी गरेपछि थप रूष्ट छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकले सरकाले सदन छलेर अध्यादेशमार्फत् शासन गर्न खोजेको भन्दै आपत्ति प्रकट गरेको थियो। सदनमा विचाराधीन विधेयक पनि अध्यादेशकारूपमा जारी गरिनु गैरसंवैधानिक भएको भन्दै बैठकले आपत्ति प्रकट गरेको थियो।

आज पनि यसै विषयमा छलफल गर्ने र साझा धारणामा रूपमा पत्रकार सम्मेलन गर्न लागिएको नेताहरूले बताएका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायत दल विपक्षमा छन्।