Sunday, May 10

४७ जना उखु किसान सम्मानित

नेपालअखबार,सर्लाही । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक प्रविधिको प्रयोग गरी उन्नत जातका उखु उत्पादन गर्ने ४७ जना किसानलाई सम्मान गरेको छ। उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार किसानलाई उखु उत्पादनमा प्रोत्साहन दिन उक्त सम्मान प्रदान गरिएको हो।बिष्णुपुर निवासी किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त उन्नत बीउको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै लागत घटेको बताइन्। अर्का किसान माधव थापाका अनुसार विगतमा प्रति कठ्ठा २० क्विन्टल उत्पादन हुने खेतमा अहिले ६० क्विन्टलसम्म उखु फल्न थालेको छ।

इन्दु शङ्कर चिनी उद्योगका अध्यक्ष राजेश केडियाले उखु खेतीको गुणस्तर सुधार गर्न किसानलाई प्रेरित गर्दै सरकारले उखु ‘जोन’ कायम गर्नुपर्ने आवश्यकता औँल्याए। हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले उद्योगसँग सहकार्य गर्दै किसानलाई सिँचाइ, प्रविधि र उन्नत बीउविजन उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

Advertisement

सर्लाहीमा वार्षिक ६४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ, जहाँ हरिवनमा इन्दुशंकर, धन्कौलमा अन्नपूर्ण र गोडैतामा महालक्ष्मी चिनी उद्योग सञ्चालनमा छन्।