Monday, April 20

चट्याङ लाग्दा बारामा ४ महिलाको मृत्यु, ८ घाइते

नेपाल अखबार, बारा। धान रोपाइँ गरिरहेको बेला चट्याङ लाग्दा बारामा आज (बिहीबार) बिहान चारजना महिलाको मृत्यु भएको छ।
बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
फेटा गाउँपालिका १ त्रिवेनीका ३० वर्षीया सिन्दु देवी र ४० वर्षीया सुनरपती देवी, कलैया उपमहानगरपालिका १२ स्थित शितलपुरकी ४५ वर्षीया हलिमा खातुन र ३५ वर्षीया आशादेवी महतोको चट्याङ लागेर मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गपन मिश्रले जानकारी दिए।
‘उनीहरु सबैलाई धान रोपाइँको लागि खेतमा गएको बेला चट्याङ लागेको हो,’ डिएसपी मिश्रले भने, ‘चट्याङ लागेर फेटा गाउँपालिकाका सातजना र कलैया १२ मा एक जना घाइते भएका छन्।’
घाइते दुई महिलाको अवस्था गम्भीर छ। गम्भीर घाइते बचैयादेवी हजामको कलैयामा उपचार भइरहेको छ। बाँकी सात जना घाइतेको वीरगञ्जमा उपचार भइरहेको डिएसपी मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार वीरगञ्जमा उपचार गराइरहेकी कलैयाकी मरियम खातुनको अवस्था गम्भीर छ। प्रदेश २ का सबैजसो जिल्लामा बिहानैदेखि मेघ गर्जनसहित ठूलो पानी परिरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *