Saturday, April 18

कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा

नेपालअखबार,काठमाडौँ। विभिन्न राजनीतिक दल परित्याग गर्दै १७०० नेताकार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा समावेश हुनुभएको छ।

शनिबार कपिलवस्तुको ११औँ जिल्ला अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद रामलौटन चौधरी, मायादेवी गाउँपालिकाका पूर्वउपाध्यक्ष गीता तिवारीलगायत विभिन्न तहका नेताकार्यकर्ताले एकीकृत समाजवादी रोज्नु भएको हो।

Advertisement

उहाँहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भन्नुभयो,“सत्तामा बसेर जनताको पक्षमा काम गर्ननसक्नेहरूबाट दिक्क भएर कमरेडहरू समाजवादी आन्दोलनमा सामेल हुनुभएको छ। हामी सधैं जनताको अधिकार र लोकतान्त्रिकमूल्य–मान्यताको पक्षमा खडा हुनेछौँ।”

कार्यक्रममा सहभागी नवप्रवेशी नेताकार्यकर्ताहरूले वर्तमान सत्ताधारी दलहरू जनताको भावनासँग विमुख भएको आरोप लगाउँदै एकीकृत समाजवादी रोजेको बताउनु भएको छ। पूर्वसांसद रामलौटन चौधरीले भन्नुभयो,“हामीले जनताको पक्षमा काम गर्न चाह्यौं, तर जहाँथियौं, त्यहाँ त्यसको सम्भावना देखिएन। त्यसैले हामीले जनतासँग जोडिएको समाजवादी यात्रामा सहभागी हुने निर्णय गरेका हौँ।”

प्रवेश गर्नेमा अधिकांश नेताकार्यकर्ता स्थानीय तहदेखि जिल्ला तहसम्मका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका अनुभवी हुन्। एकीकृत समाजवादीले पछिल्लो समय संगठन विस्तारलाई तीव्र बनाउँदै विभिन्न क्षेत्रबाट नेताकार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने अभियान जारी राखेको छ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष गीता अञ्जानको अध्यक्षता तथा पार्टी अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव, लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, पार्टी सचिव सोम प्रसाद पाण्डे, पोलिटब्यूरो सदस्य अब्दुल खाँन, केन्द्रीय कमिटी सदस्य तथा अनेमसंघ लुम्बिनी अध्यक्ष लक्ष्मी भुसाललगयात केन्द्रीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कपिलवस्तुमा माओवादी, एमाले परित्याग गरी १७ सय नेताकार्यकर्ता एकीकृत समाजवादीमा