Sunday, April 19

अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’

नेपालअखबार,काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो ।
हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।”

त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा माथिको आकाशमा होल्ड भइ चार फन्को मारेपछि भर्खरै काठमाडौँमा अवतरण भएको फ्लाइट राडर्डले जनाएको छ । सँगै बैङ्ककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेरदेखि होल्डमा परेको थियो ।

Advertisement

यसअघि बुधबार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज केही समय होल्ड भएपछि अवतरण भयो । कतारको दोहाबाट आएको कतार एयरवेज र भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि होल्ड भएका थिए । त्यतिमात्रै हैन भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिबिलिटीका कारण होल्डमा परेका थिए ।

प्रतिकूल मौसमका कारण पछिल्लो एक सातादेखि मुलुकको  उडान सामान्य प्रभावित भइरहेको छ । प्रतिकुल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा र आन्तरिक र अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ ।