Friday, July 31

फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको छुट्टाछुट्टै भेटवार्ता

नेपालअखबार,काठमाडौँ  । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेकी मन्त्री राणाले बुधबार बिहान सो भेटवार्ता गरेकी हुन्।

Advertisement

ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस भेटका अवसरमा मन्त्री राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरिन्।

Advertisement
Advertisement

साथै मन्त्री राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेका थिए। साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको बताएकी थिइन्।

Advertisement

मन्त्री राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकी थिइन्। फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो ।