Wednesday, August 19

आज भारत र पाकिस्तानबीच वार्ता हुँदै

नेपालअखबार,काठमाडौँ ।युद्धविरामको दुई दिनपछि भारत-पाकिस्तानबीच वार्ता हुन लागेको छ।

Advertisement

सोमबार दिउँसो भारत र पाकिस्तानका वरिष्ठ अधिकारीहरुबीच वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Advertisement
Advertisement

हिन्दुस्तान टाइम्सका अनुसार भारतीको सैन्य अपरेशनका महानिर्देशक (डिजिएमओ) लेफ्टिनेन्ट जनरल राजीव घाइ र  पाकिस्तानको सन्य अपरेशनका महानिर्देशक मेजर जनरल काशिफ चौधरीबीची सोमबार दिउँसो वार्ता हुने तय भएको हो।

Advertisement

उनीहरूबीच सोमबार दिउँसो १२ बजे हटलाइनमार्फत वार्ता हुने बताइएको छ।

वार्तामा तेस्रो पक्षको मध्यस्थता अस्वीकार्य हुने भारतले यसअघि नै बताइसकेको छ। सो अनुसार दुई डिजिएमओबीच सिधा वार्ता हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।

वार्तामा युद्धविरामलाई सुदृढ बनाउने र सीमानामा शान्ति कायम गर्न आधार तयार गर्ने विषयमा छलफल हुने बताइएको छ।

डिजिएमओमा मात्रै सिमित हुने वार्तामा कश्मिर तथा सिन्धु जल सम्झौता लगायतका विषयमा छलफल नहुने हिन्दुस्तान टाइम्सले जनाएको छ।

बुधबारदेखि चर्केको भारत-पाकिस्तान तनाव शुक्रबार उत्कर्षमा पुगेर शनिबार साँझदेखि युद्धविराम भएको थियो। युद्धविराममा कैयौं देशहरूले मध्यस्थ गरे पनि भारतले दुई देशबीच सिधा कुराकानीबाट युद्धविराम भएको बताएको छ।

शनिबार अपराह्न दुई देशका डिजिएमओबीच टेलिफोन संवाद भएपछि युद्धविराम भएको भनेर भारतीय सेनाले बताउँदै आएको छ।

भारतले ‘अपरेसन सिन्दुर’ चलाएर पहलगाममा २२ अप्रिलमा भएको आतंवादी हमलाको जबाफमा पाकिस्तानमा सैन्य कारबाही चलाएको थियो। त्यसको बदलामा पाकिस्तानले शनिबार ‘अपरेसन बनयान-उल-मर्सुस’ घोषणा गरेको थियो।

अपरेसन सिन्दुरमा भएको कारबाही र क्षतिबारे भारतीय सेनाले आइतबार पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरेको छ।

भारतीय वायु सेनाका सैन्य सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले अपरेसनमा एक सय भन्दा बढी ‘आतंककारी’ मारिएको बताएका छन्।

उनले पाकिस्तानी ड्रोन र हवाइ साधनहरूले आक्रमणको प्रयत्न गरिए पनि भारतको बलियो हवाई रक्षा संरचनाले त्यसलाई बिफल पारिएको बताएका छन्।