Saturday, July 25

प्यालेस्टाइनलाई फ्रान्स र बेलायतपछि क्यानडाले पनि राज्यको मान्यता दिने

नेपालअखबार,काठमाडौं । फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको छ ।

Advertisement

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बरमा हुने राष्ट्रसंघ महासभामा प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताउनुभएको हो । तर प्यालेस्टिनी प्राधिकरण अत्यावश्यक सुधारका लागि प्रतिबद्ध हुनुपर्ने र गाजामा हमासको कुनै भूमिका हुन नहुने उहाँले स्पष्ट पार्नुभएको छ ।

Advertisement
Advertisement

गाजामा भोकमरीसहितको जटिल वास्तविकता हेर्दा प्यालेस्टिनी राज्यको सम्भावना आँखैअगाडि मेटिँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । बेलायतले पनि इजरायलले युद्धविरामको प्रतिबद्धता नजनाए प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताएको छ ।

Advertisement

गत साता फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि प्यालेस्टाइनलाई राज्यको मान्यता दिने बताउनु भएको थियो । राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १ सय ४७ वटाले औपचारिक रूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन्।

यता इजरायली सरकारले भने क्यानडाको घोषणाको आलोचना गरेको छ। इजरायलको विदेश मन्त्रालयले क्यानडाको कदमलाई ‘हमासलाई दिइएको पुरस्कार’ भनी टिप्पणी गरेको छ ।

यसले गाजामा युद्धविराम हासिल गर्ने प्रयासलाई हानी पुर्‍याउने इजरायलको चेतावनी छ। प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले भने क्यानडाले प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णयलाई “ऐतिहासिक” भन्दै स्वागत गर्नुभएको छ।

प्यालेस्टिनी प्राधिकरणले वेस्ट बैंकको इजरायली पूर्ण नियन्त्रणमा नरहेका केही भागमा मात्र सीमित शासन चलाउँदै आएको छ । यसैबीच क्यानडाको घोषणापछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडासँग व्यापार सम्झौता गर्नु ‘धेरै कठिन’ हुने चेतावनी दिनुभएको छ।