Saturday, April 18

देशभर डेंगुको प्रकोप बढ्दो

नेपालअखबार,काठमाडौँ । पछिल्लो समय देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा बढको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको जनावरी महिनायता २ हजार ५ सय ८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३१ नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा १३ जनामा सङ्क्रमण देखिएको छ ।यो वर्षको जुलाई महिनामा मात्र ६९२ जना डेंगु सङ्क्रमित थपिएका छन् । जुन जुन महिनाको ५१५ केसभन्दा बढी हो ।

गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रदेशमा ७ सय ३२ केस पुष्टि भएको छ । बागमती प्रदेश ५ सय ३७ केससहित दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा ४ सय ९ केसहरू देखिएका छन् । देशका ७७ जिल्लामध्ये ७४ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुको बढ्दो जोखिमलाई ध्यानमा राख्दै ‘खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउन सबैलाई आग्रह गरेको छ ।

डेंगु सार्ने लामखुट्टेले सफा पानीमा फुल पार्ने भएकाले घर वरिपरि पानी जम्न नदिन, पानी ट्याङ्की छोपेर राख्न र लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।