Monday, June 1

राज्य व्यवस्था समिति सभापति निर्वाचनका लागि कांग्रेसको निर्णय कुर्दै सभामुख

नेपालअखबार,काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको निर्णय कुरिरहेका छन्।

‘कुलिङ अफ् पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिले नेतृत्वबाटै कमजोरी भएको निष्कर्ष निकालेपछि सभापति रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए। त्यसपछि सभापति पद रिक्त छ।

Advertisement

नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ।

‘अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो। तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ।

सोमबार बिहान कांग्रेस पदाधिकारी बैठकले सभापतिको टुंगो लगाउने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेबाट जबाफ आएको सभामुखको सचिवालयले बताएको छ।

‘आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ। विगतमा पनि तोकिएको समयमा सभापति चयन हुन नसक्दा राज्य व्यवस्थाको बैठक नै बस्न नसकेको गलत नजिर दोहोर्‍याउन नहुने सभामुखले बताउनुभएको थियो,’ सभामुखको सचिवालयले भनेको छ।