Saturday, May 2

८ कडा रोगको एकीकृत सुविधा स्वास्थ्य बीमा मार्फत पाउने

नेपालअखबार,काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागु गर्न लागेको हो ।

Advertisement

एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो ।

संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।

सेवा निरन्तरताका लागि असोजभित्र बीमा अनिवार्य

यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अब विपन्न नागरिकले ८ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । यो सुविधा १ कात्तिकदेखि बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ ।

‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर होस् भनेर हामीले आउँदो असोज मसान्तभित्र बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएर रहेका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याई राज्यको स्रोतको सही उपयोग सुनिश्चित गर्छ,’ डा. बुढाथोकीले भने ।

मन्त्रीस्तरीय निर्णयले विपन्न सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ ।