
नेपालअखबार,काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले सामुदायिक विद्यालयमा बसाइसराइ लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताए । उनले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको समेत बताए ।
राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि स्पष्ट पारे ।
उनले भने, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाइँसराइ लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरू अहिले विद्यार्थीको अभाव हुँदै गइरहेको छ । विद्यालयका भौतिक पूर्वाधारहरू छन् । अब त्यसलाई समयको मागअनुसार सदुपयोग गर्न सक्नुपर्छ ।’

