Saturday, May 2

गाजामा इजरायली आक्रमण : ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिए

नेपालअखबार, रफाह । इजरायली आक्रमणमा बुधबार गाजापट्टीमा दर्जनौँ मानिसको मृत्यु भएकाे छ । इजरायली गोलीबारीमा ८० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको स्थानीय अस्पतालहरूले बताएका छन् ।

आपतकालीन कार्यकर्ताहरुका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजार नजिकै घरबारविहीन परिवारहरूको लागि बनाइएको भवन र पालहरूमा रातभर गरिएको आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । यी आक्रमणमा हमासका दुई लडाकुहरूलाई निशाना बनाइएको इजरायली सेनाले बताएको छ ।

Advertisement

मृतकको सङ्ख्या आफ्नो जानकारीसँग मेल नखाने पनि सेनाले बताएको छ । यसैबिच, इजरायली ट्याङ्क र सेनाहरू सहरको भित्री भागमा अगाडि बढिरहेका छन् ।

यो क्षेत्र हमासको अन्तिम गढ भएको इजरायलले भनिरहेको छ । जमिनबाट भइरहेका कारबाहीको उद्देश्य हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्नु र प्यालेस्टिनी सशस्त्र समूहको निर्णायक पराजय सुनिश्चित गर्नु भएको सेनाले भनेको छ ।