Saturday, May 2

हमाससँग युद्धविरामबारे इजरायलले गम्भीररुपमा सोचिरहेको छ : बेन्जामिन नेतन्याहू

नेपालअखबार,काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा हमाससँग युद्धविराम प्रस्तावमा इजरायल गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् ।

यो वक्तव्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटको एक दिन अघि आएको हो। उनले भने, ‘हामी युद्धविराम प्रस्तावमा काम गरिरहेका छौं । यसलाई अझै अन्तिम रूप दिइएको छैन तर हामी राष्ट्रपति ट्रम्पको टोलीसँग यसमा काम गरिरहेका छौं ।’ नेतन्याहूले प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

Advertisement

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्वमा अहिलेसम्म ६६ हजार जनाको मृत्यु भइसकेको छ। इजरायलको हालैको आक्रमणपछि नेतन्याहूको सरकारमाथि युद्धविरामको लागि अन्तर्राष्ट्रिय दबाब निरन्तर बढिरहेको छ।

यो २१ बुँदे शान्ति सम्झौतामा अरब देशका अधिकारीहरूसँग पनि छलफल भएको छ। सम्झौतामा ४८ घण्टा भित्र सबै इजरायली बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको प्रावधान समावेश गरिएको छ। तर प्रधानमन्त्री नेतन्याहू हमासको पूर्ण उन्मूलनमा अडिग छन्। उनले हमास सदस्यहरूलाई गाजा छोड्ने स्वतन्त्रता दिने कुरा भने स्पष्ट पारेका छन्।

कतारको दोहामा हमास नेताहरू लुकेको ठाउँमा इजरायली आक्रमणपछि अन्तर्राष्ट्रिय दबाब थप बढेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि त्यस आक्रमणप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उक्त आक्रमणपछि युद्धविराम वार्ता रोकिएको थियो। संयुक्त राष्ट्र महासभामा धेरै पश्चिमी देशहरूले प्यालेस्टाइनको पक्षमा निर्णय लिएका थिए भने युरोपेली संघ (ईयू)ले इजरायलको खेलकुद र सांस्कृतिक गतिविधिहरूमा बहिष्कारको विचार गर्दै आएको छ। यसले इजरायललाई युद्धविराममा सहमत हुन ठूलो दबाब दिएको छ।