
नेपालअखबार,काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो पछिल्लो वक्तव्यमा इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन् ।
ह्वाइट हाउस भ्रमणपछि नेतन्याहूको एक भिडियो टेलिग्राममार्फत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा उनले इजरायली सेनालाई गाजाबाट फिर्ता बोलाउन दबाब दिइरहेका शक्तिहरूलाई निसाना बनाउँदै उनीहरू लक्षित आक्रामक अभिव्यक्ति दिएका हुन् ।
‘उनीहरूले हामीले हमासका शर्तहरू मान्नुपर्छ भनेर पटक–पटक भन्छन् । आईडीएफ (इजरायली डिफेन्स फोर्सेस) बाहिर निस्कनुपर्छ र हमास फेरि उठ्न सक्छ तथा गाजा पट्टीलाई पुनःनिर्माण गर्न सक्छ।’
उनले थपे, ‘त्यस्तो हुने छैन ।’
सोमबार ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहूबीच भेट भएको थियो। उक्त बैठकमा दुवै नेताले गाजामा शान्तिका लागि ट्रम्पको २० सूत्रीय योजनामाथि छलफल गरेका थिए ।
यस योजनामा इजरायली प्रधानमन्त्रीले सहमति जनाइसकेका छन्, तर हमासले भने अझै निर्णय सार्वजनिक गरेको छैन ।

