Tuesday, October 7

जेनजीका माग पूरा गर्न कांग्रेसमा ‘शल्यक्रिया’ आवश्यक: नेता महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जेनजी पुस्ताका सरोकारहरूलाई सम्बोधन गर्न पार्टीमा तत्काल ‘शल्यक्रिया’ आवश्यक रहेको बताएका छन्। उनले १४औँ महाधिवेशनका आकाङ्क्षा पूर्ण हुन नसकेको र पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापन मा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

Advertisement

महरले पार्टीको बहुपदीय व्यवस्थाको औचित्यमाथि प्रश्न गर्दै विधान, केन्द्रीय समिति र व्यक्तिगत प्रतिबद्धताहरूको कार्यान्वयनको समीक्षा गर्नुपर्ने चुनौती औँल्याएका छन्। सुशासन, रोजगारी, पारदर्शिता र अवसरका माग उठाएको जेनजी पुस्तामा निराशा बढ्न नदिन उनीहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्ने उनको भनाइ छ।

Advertisement

कांग्रेसको पुनर्जागरणका लागि महरले दुई साहसिक कदमहरू आवश्यक भएको बताएका छन्:

१.  सामूहिक जवाफदेहिता: चुनावमा गठबन्धन, टिकट वितरण र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यको चोटलाई नैतिक शुद्धीकरण गर्न ‘संलग्न सबैले जिम्मा लिनुपर्ने’ स्वीकारोक्ति आवश्यक छ।

२.  ‘कुलिङ अफ पिरियड’ लागू: तीन पटक सांसद/केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका वा ७० वर्ष उमेर पुगेका नेताहरूले एक पटक ‘कुलिङमा बसेर गाइडको भूमिका’ खेल्नुपर्ने प्रस्तावले अवसरको सिन्डिकेटमाथि प्रहार गरी नयाँ पुस्तालाई स्थान हस्तान्तरण गर्नेछ।

महरले यी प्रस्तावको कार्यान्वयनले ‘जेनजी आन्दोलन’ को मर्मलाई संस्थागत रूपमै सम्बोधन गर्ने र नयाँ पुस्तासँग टुटेको संवादको पुल जोड्ने विश्वास व्यक्त गरे। वर्तमान राजनीतिक र संवैधानिक सङ्कटको घडीमा प्रजातान्त्रिक आन्दोलनको अगुवा शक्तिको रूपमा कांग्रेसको भूमिका अझ गहन र निर्णायक बनेको उनको निष्कर्ष छ।

  • यस्तो छ महरको भनाई

नेपाली कांग्रेस आज आफ्नो गौरवपूर्ण इतिहास समीक्षा गर्दै भविष्यको मार्गचित्र कोर्ने चुनौतीसामु खडा भएको छ। १४ औँ महाधिवेशनका परिवर्तनका आकाङ्क्षा अझै पूर्णतः साकार हुन सकेका छैनन्। विशेष गरी आज ,जेनजी पुस्ताका सरोकारहरूले पार्टीलाई गहिरो आत्मनिरीक्षणका लागि प्रेरित गरेका छन्। यसै सन्दर्भमा, बहुपदीय व्यवस्थाको औचित्य पार्टीभित्र पुष्टि गर्नुपर्ने अवस्था आएको छ।

पार्टीको १४ औँ महाधिवेशनले मिश्रित जनादेश दियो। नेतृत्वमा अनुभवलाई निरन्तरता मिल्यो। केन्द्रीय समितिमा पदाधिकारीसम्म नै नयाँ पुस्ताको आगमन भयो। तर, यी दुई जनादेशबिच सामञ्जस्ययता कायम गर्न चुनौती देखियो। महाधिवेशनपछि पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापनमा बढी केन्द्रित भयो। आन्तरिक सुधारका प्रयासहरूले अपेक्षाकृत गति लिन सकेनन्। केन्द्रीय समितिमा उठेका सुधारका एजेन्डाहरू संस्थागत निर्णय प्रक्रियामा पूर्णतः समाहित भएनन्। गठबन्धन सरकारको कार्यसम्पादन, विशेष गरी सुशासन र जनजीविकामा, जनअपेक्षाअनुरूप हुन नसकेका कारण ,अहिले पार्टी र आमजनताबिचको सम्बन्ध सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको छ ।अनि मात्र वर्तमान सरकारका सम्भावित पूर्वाग्रही र पक्षपाती चरित्रसँग लड्ने तथा अगामी निर्वाचनमा जनताको बलियो समर्थन हुने कांग्रेस बनाउन सकिन्छ।

जेनजी पुस्ताले उठाएका सुशासन, रोजगारी, पारदर्शिता र अवसरका मागहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्छ। पुरानो अनुहार मात्र देख्दा उनीहरूमा राजनीतिक प्रक्रियाप्रति नैराश्य बढ्न सक्छ। यो चासो कांग्रेसका लागि अवसर बन्न सक्छ। उनीहरूका माग सम्बोधन गर्दै, नीति निर्माणमा समावेश गर्दै, स्पष्ट मार्गचित्र प्रस्तुत गरेमा कांग्रेसले नयाँ पुस्ताको विश्वास जित्न सक्छ।

  • आत्मसमीक्षाका लागि प्रश्नहरू:

पार्टीको बहुपदीय व्यवस्थाको औचित्य पुष्टि गर्न निम्न प्रश्नहरूको सामना गर्नु आवश्यक छ:

क) विधानले निर्दिष्ट गरेअनुसार काम भयो वा भएन?

ख) केन्द्रीय समितिले तोकेको वा निर्दिष्ट गरेको जिम्मेवारी पूरा भयो वा भएन?

ग) १४ औँ महाधिवेशनमा विभिन्न पदमा निर्वाचन लड्दा गरिएका व्यक्तिगत प्रतिबद्धताहरू के कति कार्यान्वयन भए?

घ) पार्टीको घोषणापत्र ,सरकारमा रहँदा के कति कार्यान्वयन भए वा गराइए?

कांग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव छैन, शल्यक्रिया आवश्यक छ। यसका लागि तीन सम्भावित विकल्पहरूमाथि विमर्श आवश्यक छ। हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने, के–केलाई पूर्णतः निषेध गर्ने, त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ। भोलिका कर्णधार र आजको साझेदार पुस्ताले नेपाली कांग्रेस केन्द्रीय समिति मार्फत स्पष्टता खोजेको छ।

  • आजको विषय,

१. नियमित महाधिवेशन

२. मौजुदा केन्द्रीय समिति विगठन गरेर महाअधिवेशन आयोजक समिति गठन

३. कार्यवाहकको जिम्मेवारी

४.विशेष महाधिवेशन

  • अब के गर्ने?

पहिलो- सामूहिक जबाफदेहिता अपरिहार्य छ। ‘चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छ’ भन्ने स्वीकारोक्ति आवश्यक छ। यो नैतिक शुद्धीकरणको पहिलो पाइला हो। पार्टीले सत्ताका लागि गरिएका अप्राकृतिक गठबन्धन, नातावादमा आधारित टिकट वितरण, र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यले पुर्‍याएको चोटलाई सामूहिक रूपमा स्वीकार गर्नुपर्छ।

दोस्रो- ‘कुलिङ अफ पिरियड’ को अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। ‘तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाइडको भूमिका खेल्नु पर्छ ‘ भन्ने प्रस्ताव अवसरको सिन्डिकेटमाथिको प्रहार हो। यसले नयाँ पुस्तालाई स्थान हस्तान्तरण गर्ने र योग्यता, क्षमता, नैतिकताको कसीमा खरो उत्रिएका , सार्वजनिक जीवनमा प्रश्न खडा नभएका र योगदानमा आधारित न्यायपूर्ण प्रणाली स्थापित गर्नेछ।

अन्त्यमा, यी साहसिक प्रस्तावको कार्यान्वयनले पार्टीलाई रूपान्तरणको पक्षमा रहेका पङ्क्तिलाई ऊर्जा प्रदान गर्छ। यसले ‘जेनजी आन्दोलन’ ले उठाएको मूल मर्मलाई पनि संस्थागत रूपमै सम्बोधन गर्छ। कांग्रेसलाई विचार, आदर्श र परिवर्तनको संवाहकको रूपमा पुनर्स्थापित गर्नेछ। नयाँ पुस्तासँग टुटेको संवादको पुललाई फेरि जोड्ने एक मात्र विश्वसनीय आधार निर्माण गर्नेछ।

अर्कोतर्फ, देश र संविधान सङ्कटमा रहेका घडीमा नेपाली कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी छ । त्यसै अनुरूप गहन रूपमा हामी प्रस्तुत हुन सक्नुपर्छ ।

वर्तमान समयमा देश गम्भीर राजनीतिक र संवैधानिक सङ्कटको घडीबाट गुज्रिरहेको छ। युवाहरूको नेतृत्वमा भ्रष्टाचार, कुशासन र अभिव्यक्तिको स्वतन्त्रतामाथिको प्रहारविरुद्ध उठेको आन्दोलनले राजनीतिक नेतृत्वलाई नै चुनौती दिएको छ, जसका कारण उत्पन्न अस्थिरताले संविधानका आधारभूत संरचनामाथि नै प्रश्न खडा गरेको छ। यस्तो विषम परिस्थितिमा, नेपालको प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक अगुवा शक्तिको रूपमा नेपाली कांग्रेसले देश र संविधानको रक्षार्थ खेल्नुपर्ने भूमिका अझै गहन र निर्णायक बनेको छ।