Sunday, May 10

जेनजी प्रदर्शनमा सेना जोडिएपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे

नेपालअखबार,माडागास्कर । माडागास्करका राष्ट्रपति एन्डी राजोएलिनाले आफूलाई पद छाड्न माग गर्दै हप्तौँदेखि जारी विरोध प्रदर्शनपछि आफ्नो ज्यान लिने प्रयास भएको भन्दै एउटा ‘सुरक्षित स्थान’ मा लुकिरहेको बताएका छन्।

५१ वर्षीय राजोएलिनाले फेसबुकमार्फत राष्ट्रलाई गरेको सम्बोधनमा भने,‘केही सैन्य अधिकारी र राजनीतिज्ञहरूको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो’ भनेका छन्। उनले आफ्नो हालको स्थान भने खुलाएनन्। यद्यपि, अपुष्ट रिपोर्टहरूले उनी ‘फ्रान्सेली सैन्य विमान’ चढेर देशबाट भागिसकेको बताएका थिए।

Advertisement

उनलाई सत्ताबाट हटाउने उद्देश्यले युवा प्रदर्शनकारीहरूको नेतृत्वमा दुई सातादेखि राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेको छ। ‘जेनजी माडा’ उपनाम दिइएका यी युवा प्रदर्शनकारीहरूलाई शान्त पार्ने राजोएलिनाका सबै प्रयास असफल भए। उनले आफ्नो सम्पूर्ण सरकार बर्खास्त गर्नेसहित अन्य सहुलियतहरू दिए पनि त्यसले काम गरेन।

राजोएलिना गत बुधबारदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। सप्ताहान्तमा उनको कार्यालयले उनलाई सत्ताबाट हटाउने प्रयास भइरहेको बताएको थियो। सेनाले राज्यको टिभी मुख्यालय कब्जा गर्ने धम्की दिएपछि सोमबार उक्त गडबडीबिच राष्ट्रको नाममा उनको सम्बोधन धेरै पटक ढिलो भएको थियो।

अन्ततः, फेसबुक प्रसारणमा उनले भने, ‘सेप्टेम्बर २५ देखि नै मेरो जीवनमा खतरा र कू (सैन्य विद्रोह) को प्रयास भइरहेको छ। केही सैन्य कर्मचारी र राजनीतिज्ञहरूको समूहले मेरो हत्या गर्ने योजना बनाएका थिए। म आफ्नो ज्यान बचाउन बाध्य भई सुरक्षित ठाउँ खोज्न गएको छु।’

उनले थपे, ‘यी समस्याहरू समाधान गर्ने एउटै मात्र उपाय छ; त्यो हो देशमा लागू भएको संविधानको सम्मान गर्नु।’

eaeb28f0-a852-11f0-928c-71dbb8619e94.jpg

सप्ताहान्तमा, सन् २००९ मा राजोएलिनालाई सत्तामा ल्याउन सहयोग गरेको शक्तिशाली सेनाको इकाई ‘क्याप्स्याट’ ले आफूलाई सम्पूर्ण सशस्त्र बलको कमाण्डमा रहेको घोषणा गरेर राजोएलिनालाई कमजोर पार्ने कदम चाल्यो। यस इकाईका केही अधिकारीहरू राजधानी अन्टानानारिभोका सडकमा प्रदर्शनकारीहरूसँग सामेल भएका थिए।

सोमबार सैन्य कमाण्डरहरूको बैठकपछि, क्याप्स्याटले नियुक्त गरेका नयाँ सेना प्रमुख जनरल डेमोस्थेन पिकुलसले सार्वजनिक रूपमा सुरक्षा बलहरूले राष्ट्रमा शान्ति कायम राख्न मिलेर काम गरिरहेको आश्वासन दिए। राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार, सोमबार साँझसम्म जनरल सङ्कट समाधान गर्न राज्य टिभी मुख्यालयमा थिए।

माडागास्करको सबैभन्दा ठुलो विपक्षी पार्टी टीआईएमका एक वरिष्ठ नेताले नाम नखुलाउने सर्तमा बीबीसीलाई बताए अनुसार माडागास्करलाई अहिले वास्तवमा सेनाको इकाईले चलाइरहेको छ। टीआईएम पार्टीले राजोएलिनाविरुद्ध महाभियोग लगाउने योजना बनाएको पनि बताएको छ।

राजोएलिनाका नजिकका धेरै व्यक्तिहरू नजिकैको मौरिसस भागेका छन्। तीमध्ये पूर्व प्रधानमन्त्री रिचर्ड राभालोमानाना र व्यापारी मामिनीना राभाटोमाङ्गा पनि छन्।

बीबीसी