Monday, May 4

इसराइल-हमास युद्ध अन्त्य भएको ट्रम्पको घोषणा

नेपालअखबार,माडागास्कर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इसराइल-हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्।

युद्धविराम सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू घर फर्कायो भने हमासले गजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्‍यो। त्यसपछि ट्रम्पले सो घोषणा गरेका हुन्।

Advertisement

बन्धक-बन्दी फिर्ता भएको केही घण्टापछि ट्रम्पले गजापट्टीको भविष्य र व्यापक क्षेत्रीय शान्तिको सम्भावनाबारे छलफल गर्न इजिप्टमा मुस्लिम र युरोपेली नेताहरूको बैठक बोलाए।

सो जमघटमा अनुपस्थित रहेका हमास र इसराइल दुवैले अझै आगामी कदमहरूमा सहमति जनाएका छैनन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

युद्धविरामको पहिलो चरणको सम्झौता अनुसार अमेरिकाले इजिप्ट, कतार र टर्कीसँग मिलेर बन्धक र कैदी-बन्दीहरूको रिहाइका लागि मध्यस्थता गरेको थियो।

त्यसपछि इजिप्टको समुद्री किनारको रिसोर्ट शर्म अल-शेखमा ट्रम्प र इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले युद्धविरामलाई बलियो बनाउने उद्देश्यले २० भन्दा बढी विश्व नेताहरूको एक शिखर सम्मेलन आयोजना गरे।

शिखर सम्मेलनको शुरुमा ट्रम्पले इजिप्ट, कतार र टर्कीका नेताहरूसँग गजामा भएका सम्झौताहरूलाई स्वागत गर्दै र सो विरासतलाई लागू गर्न र दिगो बनाउन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै एउटा दस्तावेजमा हस्ताक्षर गरे।

इजिप्टको राष्ट्रपति कार्यालयले छलफलमा गाजाको शासन, सुरक्षा र पुनर्निर्माण समावेश रहेको बताएको छ।

‘अब पुनर्निर्माण सुरु हुन्छ,’ ट्रम्पले शिखर सम्मेलनमा भने। लामो भाषणमा उनले आफूले मध्यस्थता गरेको गाजा सम्झौतालाई सबै सम्झौताहरू मध्ये ठूलो हुन सक्ने बताए।

सो शिखर सम्मेलनमा इसराइल र हमासका प्रतिनिधि थिएनन्। त्यस्तै साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरू पनि सहभागी भएनन्।