Tuesday, October 28

जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ।

Advertisement

युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।’

Advertisement

उनका अनुसार त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए।

‘तर सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको थियो,’ थापाले भने।

सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए। २/२ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको उनले जनाए।

थापाले भने कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको बताए।

उनले राष्ट्रका प्रमुख संरचनाहरूको सुरक्षामा अझ सतर्कता अपनाइने र भविष्यमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन्।

यस्तै उनले सिंहदरबारमा लागेको आगलागीका बेला सेनाले तीन प्रमुख क्षेत्रलाई प्राथमिक रूपमा सुरक्षित राखेको बताए।

सेनाले त्यतिबेला राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय  र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको उनले बताए।

‘सिंहदरबारका सबै तर्फबाट आगो फैलिएको अवस्थामा पनि ती तीन स्थानलाई जोगाउन सकियो भने सरकार सञ्चालनको मेरूदण्ड सुरक्षित रहन्छ भन्ने बुझाइ थियो,’ उनले भने।

उनका अनुसार, सेनाका जवान र दमकल टोली निरन्तर प्रयासरत रहेर आगो निभाउने क्रममा अर्थ मन्त्रालयको डेटा सेन्टर अन्ततः जोगाउन सफल भएका थिए।

‘यदि डेटा सेन्टर जलेको भए, केही दिनभित्रै सम्पूर्ण सरकारी प्रणाली ठप्प हुने अवस्था आउँथ्यो। अहिले राज्यको तलब, भुक्तानी, लेखा–जोखा सबै त्यहीँबाट सञ्चालन भइरहेको छ,’ उनले भने।