
नेपालअखबार,मुस्ताङ। मुस्ताङमा बाक्लो हिमपात परेको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ आदि स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी कार्यालयका अनुसार मुक्तिनाथ मन्दिर परिसर, आसपासका स्थानमा हिमपातले तीर्थालु प्रभावित बनेका छन्। स्थानीयहरूको समेत जनजीवन कष्टकर बनेको प्रहरीले जानकारी दिएको छ।
प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। सोमबार नैसूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ। त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए।
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ।





