
नेपालअखबार,काठमाडौं । अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको नयाँ मौसमी प्रणालीले सोमबार रातिदेखि नै देशभरि प्रतिकूल असर पारिरहेको छ।
काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात यही प्रणालीको असर हो।
यसैबीच बंगालको खाडीमा विकास भइरहेको नयाँ प्रणाली नेपाली आकाशमा प्रवेश गर्ने क्रममा छ। यसलाई ‘मोन्था चक्रवात’ नाम दिइएको छ।
त्यसपछि यी दुई प्रणाली आपसमा मिसिएर जाडो झन् बढ्नुका साथै ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको मौसमविदहरूले आकलन गरेका छन्।
अब प्रश्न उठ्छ, बंगालको खाडीबाट आइरहेको यो नयाँ प्रणाली कहिलेसम्म नेपाल भित्रिन्छ त?
मौसमविद विनोद पोखरेलले बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात बिहीबारसम्म नेपाल आइपुग्ने जानकारी दिए।
उनका अनुसार यसले बिहीबारदेखि बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अतिभारी वर्षा गराउन सक्छ। गण्डकी र लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ। यसबीच धानबाली काट्ने, पराल थन्क्याउने लगायत क्रियाकलाप नगर्न उनले सुझाएका छन्।
मोन्था चक्रवात १४ किलोमिटर प्रतिघन्टाको गतिमा नेपालतर्फ बढिरहेको छ। मंगलबार बिहान साढे ५ बजेसम्म बंगालको दक्षिण-पश्चिम र मध्य-पश्चिम भागमा केन्द्रित रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसले १००–११० किलोमिटर प्रतिघन्टाको आँधी ल्याउन सक्ने आकलन गरिएको छ। यसले भारतको आन्ध्रप्रदेश, उडिसा, तमिलनाडु र पश्चिम बंगालमा अत्यधिक वर्षा गराइरहेको छ। चेन्नई, तिरूवल्लुर जस्ता क्षेत्रमा पनि सोमबार रातभरि वर्षा भयो।
मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्याय पनि भारतका कर्नाटका र उडिसामा सक्रिय मोन्था चक्रवात बिहीबार साँझसम्म पर्सा, बारा, रौतहट, सर्लाही हुँदै नेपाल प्रवेश गर्ने बताउँछन्। यसले तराईका केही जिल्लासहित बाग्मतीमा पनि धेरै वर्षा गराउने उनको अनुमान छ।
‘गण्डकीमा समेत मध्यमदेखि भारी वर्षा हुनेछ। पर्सादेखि सुनसरीसम्मको तराई क्षेत्र र ठ्याक्कै त्यसको उत्तरमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात हुने देखिन्छ,’ उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोल्वालिङ, सगरमाथा, मकालु–वरूण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा स्थगित गर्न ठिक हुनेछ।’
बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा उच्च जोखिममा रहेको उनले बताएका छन्। यसबीच बिपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं-हेटौंडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्न पनि उनले सुझाएका छन्।
‘शनिबारदेखि भने मौसम फेरि घमाइलो र रमाइलो हुने देखिन्छ,’ उनले भने।


