Wednesday, October 29

प्रतिवेदनमा सैद्धान्तिक सहमति भएकासँग एकता गर्न ढिलाइ गर्नुहुन्‍न : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकताको पहल भइरहेका बेला एकता सम्बन्धी अवधारणा सहितको राजनीतिक प्रतिवेदन पार्टी बैठकमा पेश गरेका छन् ।

Advertisement

उनले ल्याएको राजनीतिक प्रतिवेदनमा सिद्धान्त र विचार मिल्ने जो–कोहीसँग एकता हुने उल्लेख गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रसँग नेकपा एसले एकता गर्न प्रक्रिया अघि बढाइरहेको छ । त्यसका लागि दुई दलको वार्ता समितिले काम गरिरहेको छ । तर दुवै दलभित्र एकताको विषयलाई लिएर फरक मतहरू पनि प्रकट भइरहेका छन् ।

Advertisement

बैठकमा माधव नेपालले पेश गरेको समाजवादी मोर्चा र वाम एकता बारे धारणाको सम्पादित अंश :

समाजवादी मोर्चा र वाम एकता

हामीले पार्टी पुनर्गठन गर्दा कायम गरिएको केन्द्रीय कमिटीको प्रथम बैठकबाट नै वामपन्थी शक्तिहरूबिच सहकार्यको भावना विकास गर्नु र मोर्चा बनाएर काम गर्दै गई पार्टी एकताका आधारहरू निर्माण गर्नु पनि आजको एउटा महत्वपूर्ण राजनीतिक कार्यभार हो भन्ने प्रस्ताव पारित गरेका थियौं। (राजनीतिक प्रस्ताव, २०७८ पृ.१६) ।

हाम्रो यही घोषित नीति अनुसार नै हामीले अहिलेको समाजवादी मोर्चा निर्माणमा जोड गरेका हौं र त्यसमा संलग्न रहेर काम गर्दै आएका हौं। समाजवादी मोर्चा मार्फत गरिएका काम पर्याप्त नहुन सक्छन् तर यसले कतिपय अत्यन्त महत्वपूर्ण काम गरेको छ ।

उदाहरणको लागि २०८१ चैत १५ गते भृकुटीमण्डपमा आयोजित प्रतिगमन विरोधी जन प्रदर्शनलाई लिन सकिन्छ। तसर्थ यस प्रकारको मोर्चाको महत्व छ भन्ने कुरा विर्सनु हुँदैन ।

वाम एकताको सम्बन्धमा पनि हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा र कार्यक्रम अँगालेका कम्युनिष्ट घटकहरूबिच एकता हुनुपर्ने कुरामा जोड दिदै आएका छौं। कम्युनिष्ट एकता आजको आवश्यकता हो।

किनभने समाजवादी क्रान्ति सम्पन्न गर्नका निम्ति एउटा बलियो क्रान्तिकारी शक्तिको अवश्यकता पर्दछ र त्यो बलियो क्रान्तिकारी शक्तिको निर्माण यहाँका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताबाट नै हुन सक्छ । तथापि स्पष्ट आधार निर्माण नभइकन पार्टी एकता हुन सक्तैन।

पार्टी एकता हुनका लागि सबभन्दा पहिले पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ। त्यसको साथै सङ्गठनात्मक संरचना र कार्य प्रणाली कस्तो हुने हो भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।

यी महत्वपूर्ण सवालमा समानता नभइकन कसैसँग पनि पार्टी एकता हुन सक्तैन । यी सबै विषयमा समानता भयो र सहमति पनि निर्माण भयो भने एकता गर्न नहुने कुरा मात्र होइन एकता सम्पन्न गर्न ढिलाई गर्नु हुँदैन । त्यसैले हामीले समान विचार, सिद्धान्त, कार्यक्रम, कार्यदिशा र रणनीतिक लक्ष्य अँगालेका कम्युनिष्ट समूहसँग एकता गर्ने नीति लिएका छौं।

पार्टीको दशौं महाधिवेशनबाट पारित गरिएका दस्तावेजहरुमा नै हाम्रो धारणा स्पष्ट छ कि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (……) नै हुनुपर्दछ, नेपाली क्रान्तिको जनवादी चरण पूरा भएको र मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको मान्नु पर्दछ, आम नेपाली जनता र दलाल नोकरशाही पूजीपति वर्गविचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्नु पर्दछ, पार्टी र क्रान्तिको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद मात्रै हुनुपर्दछ, पार्टीको सङ्गनात्मक सिद्धान्त लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नै हुनुपर्दछ, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्दछ, समाजवादी कार्यदिशा अँगाल्नु पर्दछ, नेपाली विशेषताको समाजवादी कार्यक्रम अङ्गीकार गर्नुपर्दछ र साम्राज्यवाद, प्रभूत्ववाद तथा नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रको विकास, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र आम जनताका हक अधिकारको पक्षमा दृढतापूर्वक खडा हुने र सङ्घर्ष गर्ने प्रतिबद्धता हुनुपर्दछ।

यी अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्तैन, गरिदैन। यदि यी सबै कुरामा समान धारणा राख्ने कुनै कम्युनिष्ट घटकसँग एकताको सम्भावना भएमा हामी नकारात्मक हुन पनि हुँदैन । यिनै सैद्धान्तिक अवधारणाका आधारमा पार्टी एकता गर्न सकिन्छ भने त्यसका लागि हामीले नै पहल गर्नु पर्दछ त्यो जिम्मेवारी वहन गर्न हामी सदैव तत्पर रहनु पर्दछ ।

अहिलेका चुनौति र हाम्रो दायित्व :

अहिले हाम्रो मुलुक एक प्रकारको संक्रमणकालीन अवस्थामा छ । लोकतन्त्र र कम्युनिष्ट आन्दोलन मात्रै खतरामा परेको छैन, हाम्रो राष्ट्रिय स्वाधिनतामाथि पनि खतरा बढेको छ। राष्ट्रिय सार्वभौमिकतामाथिको खतरा, सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धीहरू गुम्नसक्ने खतरा र कम्युनिष्ट आन्दोलनमाथिको खतरा हाम्रो सामु गम्भीर चुनौतिको रूपमा खडा भएका छन्। लोकतन्त्रको पहरेदारका रूपमा रहेका राजनीतिक दलहरूमाथिको प्रहार पनि अर्को चुनौतिको रूपमा रहेको छ।

राष्ट्रिय सार्वभौमिकताको रक्षा, आजसम्म प्राप्त उपलब्धीहरूको रक्षा र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति पहल, प्रयत्न गर्नु र आवश्यक पर्दा सङ्घर्ष गर्नु आजको हाम्रो प्रमुख दायित्व बन्न आएको छ।

लोकतान्त्रिक मूल्य मान्यता र संरचनाहरूको रक्षा तथा दलहरूको आत्मरक्षाको दायित्व पनि बहन गर्नुपर्ने भएको छ। यही निष्कर्षका साथ हाम्रो पार्टीको केन्द्रीय सचिवालयको गत असोज दुई गते सम्पन्न दश बैठकले निम्न निर्णय गरेको थियो

१. मुलुकको सार्वभौमिकता, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान र लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू आपसमा सहकार्य गर्दै एकजुट भई अगाडि बढ्न हाम्रो पार्टी सबैलाई हार्दिक आह्वान गर्दछ।

२. आज मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी छ।

यस्तो चुनौतिपूर्ण परिस्थितिमा कम्युनिष्ट आन्दोलन तथा राष्ट्रिय स्वाधिनता र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकतावद्ध भएर अघि बढ्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ।

हाम्रो पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघिबढाउने निर्णय गर्दछ ।

३. आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा भएको छ । तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न, गराउन नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज र सम्बन्धित सबैमा हाम्रो पार्टी आह्वान गर्दछ ।

४. हाम्रो पार्टी विगतका कामको समग्र समिक्षा गरेर निश्कर्ष निकाल्न र भएका गल्ती कमी कमजोरीहरू सच्याउदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आ-आफ्ना कामहरूको समीक्षा गरेर कमी र समाजको रुपान्तरण कमजोरीहरू सच्याउदै अघि बढ्न नेपालका सबै राजनीतिक पार्टीहरूलाई समेत आह्वान गर्दछ ।