
नेपालअखबार,काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग गरेको छ ।
विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने सरकारको तयारी छ । यसका लागि मन्त्राललयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा नै तयार पारेर निर्वाचन आयोग पठाएको छ । निर्वाचन आयोगबाट राय प्राप्त भएपछि थप छलफल गरेर अगाडि बढाउने गृहमन्त्रालयका अधिकारीहरू बताउँछन् ।
तर, निर्वाचन आयोगले गत बिहीबार नै पठाउने भनेको राय अझै पठाएको छैन । गृह मन्त्रालयले निर्वाचन आयोगले राय पठाउन विलम्ब गरेको गूनासो गरेको छ ।
गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यससम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।


