Thursday, March 12

कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको विशेष भेला आज

नेपालअखबार,काठमाडौँ ।  कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् ।

भेला बोलाउनेमा संस्थापन र डा शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतका छन् ।

Advertisement

कर्ण, भुपेन्द्रजंग शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा। कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । शेरचनले १४ औँ महाधिवेशनका क्रममा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेका बेलामा दुवै पक्षमा आ–आफ्नो पक्षमा माहौल देखाउन विशेष भेला बोलाइरहेका छन् । कांग्रेसको संस्थापन र नेता डा कोइराला समूह नियमित महाधिवेशनको पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा संकलन भएको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।