Thursday, July 9

भीम रावल: नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण

नेपालअखबार,काठमाडौं ।  नेकपा (एमाले) को सौराहा महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि एमालेबाट बाहिरिएका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।

Advertisement

एमाले त्यागेर मातृभूमि जागरण अभियान नेपालको संयोजक बनेका रावललाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले राष्ट्रिय सभागृहमा पार्टीमा स्वागत गरेका हुन्।

Advertisement
Advertisement

नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने क्रममा नेता रावलले ‘मातृभूमि जागरण अभियान नेपाल’ नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको घोषणा गर्दै विगतको एकीकरण, विभाजन र त्यसको तिक्त अनुभवको स्मरण गरेका छन्। त्यसक्रममा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सदा झैं आक्रामक रूपमा पेस भएका थिए।

Advertisement

‘हामी सबैले पछाडि फर्केर हेरौं, त्रुटिहरू के हुन्, के के भए?,’ उनले भने, ‘जसले विगतका गल्ती कमजोरीलाई महसुस गरेर इतिहासबाट  पाठ सिकेर अघि  बढ्न सक्छ, उसले मात्रै देशलाई नेतृत्व दिनसक्छ।’

कार्यक्रममा बोल्दै रावलले नेपाली कम्युनिष्ट पार्टी विगतका कमजोरी सुधारेर अघि बढ्न कटिबद्ध रहेको बताए।

‘हामी कमीकमजोरी सुधारेर अघि बढ्न कटिबद्ध छौं। विगतमा जहाँनेर ठूलो घाउ बनेर ठूला खाटा बसेका छन्, त्यो खाटा किन बस्यो होला भन्ने हामीले मनमा गुन्नुपर्छ,’ उनको दाबी थियो, ‘यसैका लागि कम्युनिष्ट पार्टी बनेको हो।’

उनले नेकपाको पहिलेको एकता नटिक्नुमा ओलीको सत्तालिप्सा मुख्य कारण भएको आरोप पनि लगाए।

‘कम्युनिष्ट पार्टी त बनाएकै थियौं। केपी ओली दुई तिहाइ बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो। मलाई पनि लागेको थियो, अब देश समृद्धितिर जानेछ,’ उनको भनाइ थियो, ‘दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधि सभा विघटन पो गरेछन्। सर्वोच्चले भन्यो, संविधान विपरीत भयो। मैले सुनेको त्यतिबेला प्रधानन्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे।’

‘उहाँले फेरि विघटन गर्नुभयो। यस हिसाबले वस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दार अरू कोही हुन्छ?,’ उनले सोधे, ‘नेकपालाई केपी ओली भन्ने झापा निवासीले धाराशायी पारिदिए।’