Monday, May 11

बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना

नेपालअखबार,काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री सनई ताकाइचीले बिहान ३ बजे बैठक राखेपछि उनको व्यापक विरोध भएको छ।

गत महिना जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीलाई एकदमै धेरै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छ।

Advertisement

उनी दैनिक दुईदेखि चार घण्टा निदाए आफूलाई पुग्ने दाबी गर्छिन्।

उनी सामाजिक भेलाहरूमा खासै सहभागी हुन्नन् र ‘काम र जीवनको सन्तुलन’ (वर्क लाइफ व्यालेन्स) हुनुपर्छ भन्ने अवधारणालाई खुलेरै अस्वीकार गर्छिन्।

तर पनि केही दिन पहिले संसदमा उपस्थित हुनुअघि सहयोगीहरूसँग बैठक गर्न उनी निवासबाट बिहान ३ बजे निस्किएपछि आफू मातहतका कर्मचारीलाई धेरै दुःख दिएको भनेर उनको आलोचना भएको छ।

जापानी मिडियाले ‘बिहान ३ बजेको अध्ययन सत्र’ नाम दिएको सो बैठकपछि उनको व्यापक विरोध भएको हो।

जापानमा हालैका वर्षहरूमा अत्यधिक कामका कारण हुने मृत्युका (कारोशी) धेरै घटनाहरू भएकाले पनि ताकाइचीको सो कार्यको यति धेरै विरोध भएको हो

धेरै सहयोगीहरू संलग्न भएको र करिब तीन घण्टासम्म चलेको सो बैठक ‘अति नै अस्वस्थ’ भएको केहीले तर्क गरेका छन्। अरूले भने ताकाइचीले आफ्ना कर्मचारीहरूमा अनावश्यक बोझ थोपरेको बताएका छन्।

मुख्य विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री योशिहिको नोडाले ताकाइचीको त्यति बिहानै बैठक गर्ने निर्णयलाई ‘पागलपन’ बताएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।

सन् २०११ देखि २०१२ सम्म जापानको प्रधानमन्त्री रहेका नोडाले आफूले बिहान ६ बजे वा ७ बजेतिर काम सुरू गर्ने गरेको खुलासा गरे।

‘उनी आफैले काम गर्नु ठिक छ। तर उनले अरू मानिसहरूलाई संलग्न गराउनु हुँदैन। बिहानको त्यो समयमा सबै जना सुतिरहेका हुन्छन्। देशको शीर्ष नेताले यस्तो व्यवहार देखाउनु निकै दुःखद् हो,’ उनले एक अन्तर्वार्तामा भने।