
नेपालअखबार,विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले सत्ता केन्द्रित राजनीति गरेको भन्दै कडा आलोचना गरेका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै खनालले जोसुकैसँग साँठगाँठ गरेर जसरी पनि बालुवाटार पुग्ने प्रवृत्तिलाई ‘एमाले बाटो’ को संज्ञा दिए ।
‘जोसुकैसँग साँठगाँठ गरेर अघि बढ्ने बाटो क्रान्तिको बाटो होइन । जसरी पनि बालुवाटार पुग्ने बाटो एमाले बाटो हो,’ खनालले भने, ‘त्यसरी क्रान्तिको बाटो लिन सकिँदैन । त्यही भएर हामीले सिद्धान्त र नीतिका आधारमा नयाँ एकता गरेका हौं ।’
नेता खनालले पटक–पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बने पनि क्रान्तिकारी भूमिसुधार हुन नसकेको स्वीकार गरे । उनले संविधानमा र पार्टीका महाधिवेशनमा कृषि क्रान्तिको कुरा लेखिए पनि सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति देखिएको बताए ।
‘खै अहिलेसम्म क्रान्तिकारी भूमिसुधार ? हामीले कृषि क्रान्ति गर्नुपर्छ भनेर संविधानमा लेख्यौं, महाधिवेशनबाट पारित गर्यौं, तर सत्तामा पुगेपछि बिर्सियौं,’ खनालले भने, ‘सरकारले जबसम्म उत्पादित वस्तुको बजारीकरण गर्न सक्दैन, तबसम्म कृषकहरुको उन्नति हुँदैन । अब नेपाली कम्युनिष्ट पार्टीले भूमिसुधार र कृषि क्रान्तिको संकल्प गर्नुपर्छ ।’
देशमा औद्योगिकीकरण हुन नसक्दा २५ प्रतिशतभन्दा बढी जनसंख्या विदेशिन बाध्य भएको भन्दै खनालले स्वर्गजस्तो देशलाई नर्क बनाइएको टिप्पणी गरे । ‘कि खाडीमा, कि अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जान युवाहरू बाध्य छन्,’ उनले भने, ‘हामीले नयाँ ढंगले यो देशलाई औद्योगिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।’
पार्टी एकताको प्रसंगमा बोल्दै खनालले टाउको, पुच्छर वा टुप्पी जोडेर मात्र एकता नहुने बताए । १६ वटा पार्टीले मार्क्सवाद र लेनिनवादलाई साझा सिद्धान्त मानेर एकताबद्ध भएको उनले प्रष्ट पारे । ‘एकता भनेको टाउको जोडेर बन्ने कुरा होइन, सिद्धान्त र नीतिको लागि हुन्छ,’ उनले भने ।
खनालले नेपाली विशेषताको समाजवाद प्राप्त गर्नु आफूहरुको रणनीतिक लक्ष्य र निर्वाचनमा भाग लिनु कार्यनीतिक लक्ष्य भएको बताए । संसदीय बुर्जुवा ढंगले नभई क्रान्तिकारी ढंगले निर्वाचनलाई उपयोग गर्नुपर्ने खनालको भनाइ थियो ।
खनालले निर्वाचनमा पार्टीलाई विजयी बनाउन अघि बढ्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

