Wednesday, August 19

समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

Advertisement

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगमा रहनेछ।

Advertisement
Advertisement

आयोगले यसअघि मंसिर १२ गते नै सचिव महादेव पन्तलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकेको थियो।

Advertisement

आयोगले सोमबार प्रेस वक्तव्य जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त कार्यालय उद्घाटन गरेको जनाएको छ।

उक्त निर्वाचन प्रणालीतर्फ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ। कुल कर्मचारी ४१ जना रहने छन्।

कार्यालय उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन्।

समानुपातिक निर्वाचन प्रणालीमा सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्यांक कार्यालय समेतको सहयोगमा जातीय, भौगोलिक, लैंगिक लगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिन्छ।

यसबीच सोमबारै अर्थमन्त्री रामेश्वर खनाल र कानुनमन्त्री अनिल सिन्हाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र सरकारले उपलब्ध गराउनुपर्ने सहयोगबारे छलफल गरेको आयोगले जनाएको छ।

छलफलमा अर्थमन्त्री खनालले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी सहायता उपलब्ध गराउने बताए।