Saturday, April 18

नागढुङ्गा–नौबिसे सडक एक सातासम्म बन्द रहने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् ।

Advertisement

जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।

नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।

सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ ।

यस्तै मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई  खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ । यस्तै गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई  गल्छी, बैरेनी र मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिने छ ।

साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला – भिमढुङ्गा – रामकोट – धार्के सडक, सामाखुसी – टोखा – छहरे – त्रिशुली (बिदुर) – गल्छी सडक र जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेशीको त्रिशुली पुल वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।

सडक बन्द रहेता पनि एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

यस्तै आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

image