Thursday, July 9

  नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा भोट हाल्न जाँदा प्यानलको लिस्ट लान पाइने

नेपालअखबार,काठमाडौं ।  नेकपा एमालेको जारी ११औं महाधिवेशनका लागि भइरहेको मतदानमा एकचोटिमा ५० जनाले भोट हालिरहेका छन्।

Advertisement

प्रतिनिधिहरूले मतदान गर्न जानुअघि आफ्नो प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। त्यस आधारमा मतदान स्थलमा प्रवेश पाइन्छ।

Advertisement
Advertisement

कार्ड स्क्यान गरेर भित्र गएपछि त्यो कार्ड प्वाल पारिन्छ। त्यसपछि प्रतिनिधि भोटिङ मेसिन भएको ठाउँसम्म पुग्छन्।

Advertisement

भोटिङ मेसिनमा सबै पदका लागि फोटोसहित उम्मेदवारको सूची राखिएको छ। प्रतिनिधिले त्यही फोटो र नाम हेरेर इच्छाएको व्यक्तिलाई भोट हाल्न सक्छन्।

अहिलेसम्म भोट हालेर फर्केकाहरूको अनुभव सुन्दा एक जनालाई कम्तिमा २५ मिनेटदेखि बढीमा ४० मिनेटसम्म लागेको छ। प्रविधिमैत्री प्रतिनिधिहरूले कम समयमै भोट खसालेर फर्केको पाइन्छ।

अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले ४०–४० मिनेटमा भोट हालेका थिए भने उपाध्यक्ष उम्मेदवार विष्णु पौडेललाई २५ मिनेट र महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए।

भोटिङ मेसिनको स्क्रिनमा इच्छाएका व्यक्तिको नाममा दुईचोटि थिचेर (डबल ट्याप) भोट हाल्ने प्रविधि अपनाइएको छ।

यसरी डबल ट्याप गर्दा भोटिङ फिर्ता पनि हुन सक्छ। त्यस्तो बेला स्क्रिनमै संकेत चिह्न देखापर्छ। संकेत चिह्न देखिएको अवस्थामा प्रतिनिधिले फेरि भोट हाल्न पाउँछन् वा आफ्नो भोट बदल्न पनि सक्छन्।

उम्मेदवारहरूको सूची भोटिङ मेसिनको १५ वटा पेजमा बाँडिएको छ। प्रत्येक पेजमा नाम भएका सबै उम्मेदवारलाई भोट हालेपछि अर्को पेजमा जान पाइन्छ। एउटा पेजमा भएका सबै उम्मेदवारलाई भोट हाल्यो कि हालेन भनेर स्क्रिनमै संकेत चिह्न आउँछ।

कसैले कुनै पदमा भोट हाल्न छुटाएको रहेछ भने मेसिनले संकेत गर्छ। प्रतिनिधिले त्यसै अनुसार छुटेको पदमा भोट हाल्न सक्छन् वा त्यसलाई छोडेर अगाडि बढ्न सक्छन्।

एउटा पेजबाट अर्को पेजमा फड्किनुअघि सबैलाई भोट हालियो कि हालिएन भनेर जाँच्न पाइन्छ। एकचोटि अगाडिको पेजमा फड्किएपछि फेरि फर्किएर आउन पाइँदैन।

मतदान स्थलभित्र प्रतिनिधिहरूलाई मोबाइल लान बन्देज गरिएको छ। तर दुवै प्यानलका उम्मेदवारको सूची भने लान दिइएको छ।

प्रतिनिधिहरूले त्यही सूची हेरेर आफ्नो प्यानलका उम्मेदवारलाई भोट हाल्न सकून् भनेर यसो गरिएको हो।

जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ।