Monday, May 11

नेपाल रिटर्नी एशोसिएसन र रिटर्नी सेन्टर नेपालबीच संयुक्त संगठनको नाम र झण्डा टुंगो

नेपालअखबार,काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) र नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टर नेपाल बीच संयुक्त संगठन निर्माणका लागि भएको सहमतिअनुसार दुवै संगठनका अध्यक्षबीच आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, काठमाडौंमा बैठक सम्पन्न भएको छ।
वार्ता समितिको संयुक्त बैठकले दिएको म्यान्डेटअनुसार सम्पन्न उक्त बैठकमा नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) का अध्यक्ष प्रवीण पौडेल र रिटर्नी सेन्टर नेपालका अध्यक्ष देवेन्द्र सम्बाहाम्फे सहभागी रहनुभएको थियो। बैठकले संयुक्त संगठनको आगामी दिनमा प्रयोग हुने नाम र झण्डा औपचारिक रूपमा टुंगो लगाएको छ।
बैठकको निर्णयअनुसार संयुक्त संगठनको नाम “नेपाल रिटर्नी एशोसिएसन” रहनेछ। त्यसैगरी संगठनको झण्डामा तत्कालीन रिटर्नी सेन्टर नेपालले प्रयोग गर्दै आएको झण्डाको माथिल्लो भागको केन्द्रमा डायमण्ड (चम्किलो हीरा) थप गरी प्रयोगमा ल्याइनेछ।
बैठकमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकहरूको हकहितका विषयमा गम्भीर छलफल गरिएको छ। विशेष गरी नेपालबाट दक्षिण कोरिया जाने नेपालीहरूको अधिकार सुनिश्चित गर्न नेपाल एयरलाइन्समार्फत नेपाल–दक्षिण कोरिया सीधा उडान प्रक्रिया सरकारद्वारा शीघ्र अघि बढाइनुपर्ने माग दोहोर्‍याउँदै, त्यसका लागि पुनः सम्बन्धित मन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
त्यसैगरी बैठकले देश एकातिर खाद्यान्नमा परनिर्भर हुँदै गएको र अर्कोतिर सरकारले कृषि अनुदान तथा सहुलियत ऋण खर्चिँदै आएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बैठकले २०४६ सालदेखि हालसम्म कृषि अनुदान तथा सहुलियत ऋण लिने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गर्नुपर्ने माग गर्दै, आगामी दिनमा कृषि उत्पादनमा संलग्न रिटर्नीहरूलाई लक्षित नीति आगामी बजेटमै सुनिश्चित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
बैठकमा संगठनको वर्तमान अवस्था, आगामी कार्ययोजना तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको सामाजिक, आर्थिक र व्यावसायिक सुरक्षाका विषयमा पनि विस्तृत छलफल गरिएको थियो। संगठनलाई थप क्रियाशील र प्रभावकारी बनाउँदै सदस्यहरूको सक्रिय सहभागिता बढाउने, संगठन विस्तार गर्ने र स्थानीय तहसम्म रिटर्नीहरूको पहुँच सुनिश्चित गर्ने विषयमा विशेष जोड दिएको छ।
त्यसैगरी रिटर्नी श्रमिकहरूको ज्ञान, सीप, अनुभव र पूँजीलाई स्वदेशमै सदुपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनमा संगठनले अग्रणी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ। बैठकले विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा रिटर्नी श्रमिकहरूको हकहितका लागि सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement