Sunday, April 26

रुकुम (पूर्व) का नेताको माग हालको उम्मेदवार सिफारिस बदर गरी प्रचण्डलाई एकल सिफारिस गरियोस्

नेपालअखबार,काठमाडौं । रुकुम (पूर्व)का ७३ जना पार्टी नेता तथा कार्यकर्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा हाल सिफारिस गरिएका उम्मेदवार बदर गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकल रूपमा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न माग गरेका छन् ।

ऐतिहासिक रूपमा दश वर्षे जनयुद्धको केन्द्र रहेको र शहिद, घाइते तथा संघर्षशील जनताको भूमिका रूपमा चिनिने जिल्ला भए पनि २०६४ सालपछि निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको उल्लेख गरेका छन् ।

Advertisement

पत्रमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवा–सुविधामा रुकुम अझै पनि पछि परेको उल्लेख गर्दै जिल्लाको ऐतिहासिक भूमिका र जनताको अपेक्षा सम्बोधन गर्न पार्टी संयोजक प्रचण्डको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक रहेको दाबी गरिएको छ

उनीहरूले पार्टी केन्द्रबाट जारी सर्कुलर, उम्मेदवार छनोट मापदण्ड, पार्टी विधान र राजनीतिक–नैतिक मूल्य–मान्यताको पालना हुनुपर्ने उल्लेख गर्दै हाल गरिएको उम्मेदवार सिफारिस तत्काल बदर गर्नुपर्ने माग गरेका छन् । साथै रुकुम (पूर्व) बाट प्रतिनिधि सभा सदस्यका लागि प्रचण्डलाई एकल रूपमा सिफारिस गर्न आग्रह गरिएको छ ।

पत्रमा यदि उक्त माग समयमै सम्बोधन नभए त्यसबाट उत्पन्न हुने राजनीतिक, संगठनात्मक तथा निर्वाचनगत क्षतिको जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने चेतावनी पनि दिइएको छ । शहिद परिवार, घाइते, संघर्षशील जन र आम जनताको विश्वास र अपेक्षाको सम्मानका लागि यो निर्णय अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

रुकुम (पूर्व)का नेताहरूले पार्टीको हित, आन्तरिक लोकतन्त्र, ऐतिहासिक जिम्मेवारी र संवैधानिक मूल्यको रक्षा गर्ने उद्देश्यले यो विषयलाई उच्च प्राथमिकतामा राखेर शीघ्र निर्णय लिन पार्टी संयोजकको ध्यानाकर्षण गराएका छन् ।

पत्रमा केन्द्रीय कमिटी सदस्य, जिल्ला समिति सदस्य, वाइसीएल, अखिल (क्रान्तिकारी), प्रेस सेन्टरलगायत विभिन्न संगठनमा आबद्ध १८ जना नेता तथा कार्यकर्ताको हस्ताक्षर रहेको छ ।

WhatsApp Image 2025-12-31 at 16.01.41WhatsApp Image 2025-12-31 at 16.01.42 (1)WhatsApp Image 2025-12-31 at 16.01.42