Saturday, January 10

कांग्रेस विवादमा निर्वाचन आयोगले भन्यो- नजिकबाट हेरिरहेका छौं

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताएको छ ।

शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएको हो ।

Advertisement

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले भने, ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’

नेपाली कांग्रेसभित्र अहिले नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । केही दिनअघिको कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी बैशाकमा गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।

विशेष महाधिवेशन आह्वानकर्ताहरूले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बैठक आह्वान राखेका छन् । यसमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपमहामन्त्री फरमुल्लाह मन्सुरलगायतको पनि समर्थन छ ।

विशेष र नियमित महाधिवेशनको विवाद निर्वाचन आयोगमा समेत प्रवेश गरिसकेको छ । केही दिनअघि विशेष पक्षधरले आयोगलाई पत्राचार गरेका थिए । तर, त्यसबारे आयोगले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

आयोगले यसलाई आन्तरिक लोकतन्त्रको विषय भएको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने, ‘उहाँहरूको आन्तरिक लोकतन्त्रको विषय हो । अहिलेलाई यति भनौं ।’