
नेपालअखबार,काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । मतदानस्थलभित्र २३ हजार ११२ वटा केन्द्र रहनेछन् । मतदाता संख्याको आधारमा एउटा मतदानस्थलमा थप केन्द्र रहन्छन् ।
प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । जसमा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । निर्वाचन आयोगले तय गरेको मतदानस्थललाई सुरक्षाको दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिएको मतदानस्थललाई ‘अति संवेदनशील’मा वर्गीकरण गरिएको छ ।
आयोगले तय गरेको मतदानस्थलमध्ये ३ हजार ६८० स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । संवेदनशील मतदानस्थल ४ हजार ४४२ वटा र सुरक्षा संवेदनशीलताको हिसाबले २ हजार ८४५ स्थललाई सामान्य मतदान स्थलमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा गृह मन्त्रालयले मतदानस्थलको वर्गीकरण गरेको हो ।
अति संवेदनशील मतदानस्थल सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । त्यस्ता स्थलमा अन्यत्रभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिन्छ । अति संवेदनशील स्थलमा ३ जना प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन गरिने प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘थप मतदान केन्द्र भएमा २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप गरिन्छ ।’
एकीकृत सुरक्षा योजना अनुसार अति संवेदनशील स्थलमा एउटा मात्र केन्द्र रहेमा ३ प्रहरी र १० निर्वाचन प्रहरी खटिनेछन् । त्यही स्थलमा थप केन्द्र भएमा प्रतिकेन्द्र २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप खटाउने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।
संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ६ जना निर्वाचन प्रहरी परिचालित हुनेछन् । त्यसमा पनि केन्द्र थप भएको ठाउँमा प्रति थप केन्द्रमा २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप परिचालित हुनेछन् । सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ निर्वाचन प्रहरी परिचालन गरिने डीआईजी काफ्लेले बताए । ‘थप केन्द्र अनुसार सुरक्षाकर्मीको संख्या पनि बढ्छ,’ उनले भने ।
केन्द्र थपिएको ठाउँमा प्रतिकेन्द्र २ जना प्रहरी र ४ जना निर्वाचन प्रहरीले मतदान अवधिभरको सुरक्षा गर्नेछन् । एकीकृत सुरक्षा योजना अनुसार सामान्य मतदानस्थलमा दुईवटा मात्र मतदान केन्द्र भएमा ४ जना प्रहरी र ९ जना निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले चुनावको सबैभन्दा भित्री घेराको सुरक्षा गर्नेगरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ । मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षा घेरा तीन तहको हुनेछ । एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन गरिनेछ । सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिनेछन् । चुनावमा ७९ हजार सेना खटिँदैछन् । सेना तेस्रो घेरामा परिचालित हुनेछ । निर्वाचनमा सूचना संकलनको जिम्मेवारी सहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने राष्ट्रिय अनुसन्धान विभागका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् । प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया थालेको छ । सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदैछ ।

