Friday, February 20

सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा

नेपालअखबार,धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा अस्थायी प्रहरी जनशक्ति निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ । भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक युवाहरूको लर्को लागेको छ ।

निर्वाचन सुरक्षा योजना अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । जनसंख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ, जसमा सबैभन्दा धेरै जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ ।

Advertisement

तथ्यांक अनुसार कैलाली जिल्लाका लागि सर्वाधिक ४ हजार ९८ जनाको कोटा तोकिएको छ भने दार्चुलाका लागि ९३० जना मात्र माग गरिएको छ । कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२ र बझाङमा १ हजार ५८० जना भर्ना गरिनेछ । त्यस्तै बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६० र डडेल्धुरामा १ हजार ४० जना निर्वाचन प्रहरी छनोट गरिने उल्लेख छ ।

नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ को मापदण्डमा आधारित रहेर यो भर्ना प्रक्रिया अघि बढाइएको हो । सुदूरपश्चिममा प्रतिनिधिसभा तर्फका १६ निर्वाचन क्षेत्र र प्रदेशभर कायम गरिएका १ हजार १७६ मतदानस्थलको सुरक्षा व्यवस्थापनमा यो जनशक्ति परिचालन हुनेछ ।

आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा देखिएको युवाहरूको उत्साहले निर्वाचनको सरगर्मी बढेको संकेत गरेको छ ।