Friday, March 13

राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सायमीसहितका नेता आज नेकपामा प्रवेश गर्दै

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

सायमीले राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू  नेकपामा प्रवेश गर्न लागेको बताए । राष्ट्रिय मुक्ति पार्टीले सुमन सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरेको थियो । रवीन्द्र कुमार श्रेष्ठको नाम क्षेत्र नम्बर ७ बाट सिफारिस गरेको थियो । उनी दुवै जना पार्टी छाडेका छन् ।

Advertisement

नेता सायमीले भने, ‘देश नै संकटमाम जाने देखेर हामी नेकपामा जान लागेका हौं, सामाजिक सञ्जालमा भाइरल भएकाहरूको कब्जामा देश जाँदै छ, यदि त्यस्तो भयो भने देश नै रहँदैन । त्यसले परिवर्तनकारी सबै शक्ति एक भएर चुनावबाट आउनुपर्छ ।’ जो भाइरलहरू छन् उनीहरूको न विचार छ, न सिद्धान्त छ, न कुनै एजेन्डा छ । उनीहरू देशको प्रधानमन्त्री बने भने के हुन्छ ? त्यही चिन्ताले सबैको सल्लाहमा नेकपामा जान लागेको उनले बताए ।

सायमी आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । उनले नेकपाले आफूलाई ८ नम्बरका लागि टिकट दिने बताए । राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि खोलिएको पार्टी हो, चुनाव जाने भएको छ, चुनावमा जाने जस्तो सङ्गठन छैन त्यही भएर त्यहाँ समय खेर फाल्नुभन्दा राम्रो जहाँ विचार र मुद्दा मिल्छ त्यहाँबाट चुनाव लड्ने भनेर आफू नेकपा जान लागको उनले बताए ।

सायमी २०७९ को स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेका थिए । उनले त्यतिबेला १३ हजार ७७० जना मत ल्याएका थिए । चुनावपछि उनी राजेन्द्र महतोको साथमा राष्ट्रिय मुक्ति क्रान्तिमा लागेका थिए ।