Monday, August 3

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे।

Advertisement

सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।

Advertisement
Advertisement

एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएकाे हाे। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे थियाे। तर, भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनका कारण सरकार ढलेपछि सम्झाैतामा हस्ताक्षर गर्नमा ढिलाई भएकाे थियाे।

Advertisement

सम्झौतामा हस्ताक्षर हुनु अघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो । बैठकका क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। उनले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने बताए। साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताए ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

यस सम्झौताबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत हुने विश्वास गरिएको रियादस्थित नेपाली राजदूतावासले जनाएको छ।

साउदीमा हाल श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र फेरबदल गर्ने गरेको, कम्पनीले घर जान नदिएको, उपचारमा लापरवाही गर्ने गरेको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले साउदीका लागि श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएका थिए । भने अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक लाख ४१ हजार ५०२ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृतिसहित) लिएर साउदी गएका थिए ।