Friday, July 31

विकासका एजेन्डासहित मतदाताको घर–घरमा नेता आले

नेपालअखबार, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।

Advertisement

यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।

Advertisement
Advertisement

कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नु भएका नेता आले पछिल्ला केही हप्तादेखि निर्वाचन क्षेत्रका गाउँ–गाउँ, टोल–टोल तथा बस्ती–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहनु भएको छ ।

Advertisement

घरदैलो अभियानका क्रममा उहाँले स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष रूपमा जानकारी लिइरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

चुनावी अभियानअन्तर्गत नेता आलेले कार्यकर्ता भेटघाट, जनतासँग प्रत्यक्ष संवाद, घरदैलो कार्यक्रम तथा विभिन्न अन्तरक्रियालाई निरन्तरता दिइरहनु भएको छ ।

विगतमा आफूले सरकारमा रहँदा गरेका विकास निर्माणका काम र आगामी कार्यकालका स्पष्ट योजनाहरू सार्वजनिक गर्दै उहाँ मतदाताको विश्वास जित्ने प्रयासमा जुटिरहनु भएको छ ।

आगामी कार्यकालका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नेता आलेले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटा मेडिकल कलेजमा एमबीबीएस तहको पठनपाठन सुरु गराउनेदेखि फाप्ला रंगशालाको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै आउनु भएको छ ।

त्यसैगरी धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने कार्यलाई पूर्णता दिने, धनगढीको जिरो प्वाइन्टबाट खुटिया, दिपायल हुँदै बझाङको उरै भञ्ज्याङसम्म जोड्ने रणनीतिक सडक निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उहाँले स्पष्ट पार्नुभएको छ ।

“धनगढीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै सुदूरपश्चिमका दुर्गम जिल्लालाई सडक सञ्जालमार्फत जोड्नु मेरो सपना हो,” नेता आलेले भन्नुभयो, “यी काम पूरा गर्नकै लागि म पुन: जनताको मत माग्दै चुनावी मैदानमा होमिएको छु ।”

विकासका काम, लामो राजनीतिक अनुभव र स्पष्ट प्रतिबद्धतालाई आधार बनाएर नेता आलेले कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहनु भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जनाको उम्मेदवारी परेको छ । प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रभावशाली उम्मेदवार मैदानमा उतारेका छन् ।

जस अन्तरगत नेकपाबाट प्रेमबहादुर आले, नेपाली कांग्रेसबाट नरनारायण शाह (मनु), नेकपा (एमाले) बाट यज्ञराज ढुंगाना तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आनन्दबहादुर चन्द उम्मेदवार रहनु भएको छ ।
यस निर्वाचन क्षेत्रको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

डोटी जिल्लाबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएका नेता आले यसपटक नयाँ निर्वाचन क्षेत्र कैलाली–५ बाट उम्मेदवार बन्नु भएको हो ।

उहाँ २०७० र २०७४ सालमा नेकपा (एमाले) बाट तथा २०७९ सालमा नेकपा (एकीकृत समाजवादी) पार्टीको डोटीबाट निर्वाचित हुनुभएको थियो ।

चुनावी अभियानका क्रममा नेता आलेले मन्त्री हुँदा कैलाली जिल्लाका लागि गरेका विकास कार्यहरूलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्दै आउनु भएको छ ।