Saturday, April 18

न नाराबाजी, न जुलुस — चुल्होछेउबाट सुरु भएको सुनसरी–२ को फरक चुनाव

नेपालअखबार, इनरुवा । सुनसरी–२ मा चुनावी माहोल तातिएको छ । सडकमा रोड–सो, चोकमा कोणसभा, झन्डा–ब्यानर र नाराबाजी—यी सबै चुनावी दृश्य सामान्य जस्तै लाग्छन् । तर यही भीडभाडको बीचमा एक जना उम्मेदवार भने फरक बाटो समातेका छन् । स्वतन्त्र उम्मेदवार इकवाल अहमद अहिले आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुग्ने पहिलो उम्मेदवारको रूपमा चर्चा कमाइरहेका छन् ।
गौतमपुरदेखि इनरुवा नगरपालिका र रामधुनी नगरपालिकाभित्रका बस्तीहरूमा उनी एक्लै पुगिरहेका छन् । न ठूलो टोली, न माइक, न नाराबाजी । चुपचाप घरको आँगन छिर्ने, भान्सासम्म पुग्ने, मतदाताको जिज्ञासा सुन्ने र उत्तर दिने—उनको चुनावी शैली यस्तै छ । उनी आफैं दाबी गर्छन् कि करिब २० हजार मतदातासम्म प्रत्यक्ष पुगेका छन् ।
“चुल्होमै आएर मत माग्नुभयो”
जल्पापुरकी नबेदा खातुनको अनुभव इकवालको अभियानको प्रतिनिधि उदाहरण हो ।
“म भात पकाउँदै थिएँ । एक जना युवा स्वतन्त्र उम्मेदवार हुनुहुँदोरहेछ । चुल्होमै आएर मत माग्नुभयो,” उनी भन्छिन् । “मेरो जिज्ञासा शान्त पार्नुभयो । कसैको विरोध गर्नुभएन, गाली गर्नुभएन । आफ्ना कुरा राखेर मत माग्नुभयो ।”
बबियाकी रेशमा शर्मा (खत्वे) पनि यही अनुभव दोहो¥याउँछिन् । “अहिलेसम्म उम्मेदवारकै रूपमा घरमा आएको स्वतन्त्र उम्मेदवार इकवाल अहमद मात्रै हो । उहाँको मत माग्ने तरिका मन प¥यो ।”
गौतमपुरका मोहन मेहता भन्छन्, “अरू उम्मेदवार गाउँ त आउँछन्, तर सडकबाट नमस्कार गर्दै हात हल्लाउँदै जान्छन् । जिज्ञासा राख्ने अवस्था हुँदैन । इकवालसँग भने खुला रूपमा प्रश्न राख्न पाइन्छ ।”
रामधुनी–२ का दिनेश चौधरी त झनै स्पष्ट छन्—“सबै उम्मेदवार गाउँ आए, तर घरमै बसेर गफ गर्ने, चिया पिउने, भोट माग्ने इकवाल मात्रै देखिए । उम्मेदवार यस्तो जनमैत्री हुनुपर्छ ।”
भीडको राजनीति बनाम संवादको राजनीति
सुनसरी–२ मा कुल २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अधिकांश उम्मेदवार रोड–सो, कोणसभा र शक्ति प्रदर्शनमा व्यस्त छन् । तर इकवालको रणनीति फरक छ—व्यक्तिगत भेटघाट र प्रत्यक्ष संवाद ।
उनले स्वीकार्छन्, “मेरो संगठन छैन भोट माग्ने । त्यसैले म आफैं मतदाताकोमा पुग्नुपर्छ । यो मेरो पहिलो चुनाव हो । चुनाव चिन्ह चिनाउनु छ । अरूभन्दा फरक हुन सकेन भने मतदातासँग परिचित हुन सकिँदैन ।”
उनको भनाइले एउटा गहिरो प्रश्न उठाउँछ—के चुनाव केवल नाराबाजी र भीड देखाउने अभ्यास हो, कि मतदातासँग प्रत्यक्ष संवाद गर्ने प्रक्रिया ?
अप्रत्यासित नतिजाको संकेत ?
घरदैलो अभियान नेपालमा नयाँ होइन । तर ठूलो दल र बलियो संगठनबीच स्वतन्त्र उम्मेदवारले एक्लै घरघर पुग्नु दुर्लभ दृश्य हो । मतदाताले खुलेर प्रशंसा गरिरहँदा यसको प्रभाव मतपेटिकामा कस्तो पर्ला भन्ने चासो बढेको छ ।
राजनीतिक विश्लेषकहरू भन्छन्—प्रत्यक्ष भेटघाटले मतदातामा व्यक्तिगत सम्बन्ध र विश्वासको भावना बढाउँछ । विशेषगरी असन्तुष्ट वा निर्णय नलिएका मतदातालाई प्रभावित गर्न यस्तो शैली प्रभावकारी हुन सक्छ ।
सुनसरी–२ मा इकवाल अहमदको अभियानले कम्तीमा एउटा सन्देश त दिएको छ—राजनीति भीडबाट मात्र होइन, विश्वासबाट पनि जित्न सकिन्छ । अब हेर्न बाँकी छ, घरको चुल्हो र आँगनसम्म पुगेको यो यात्रा मतपेटिकासम्म कति पुग्छ ।

Advertisement